नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले आइतबार सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेर रिक्त रहेका सातवटै प्रदेश प्रमुखहरुमा पार्टी नेताहरुको नाम नियुक्तिका लागि सिफारिस गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो।
बैठकले अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सरकारलाई सिफारिस गरिएको महासचिव विष्णु पौडेलले जानकारी दिए।
कुन प्रदेशका लागि के गर्ने भन्ने विषयमा सरकार र राष्ट्रपतिले निर्णय गर्ने उनले बताए।
पौडेलले सरकार परिवर्तन भएपछि संवैधानिक अधिकार अनुरुप अधिल्लो सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्त गर्न सरकारलाई सिफारिस गरिएको बताए।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ माघ ३ गते सातै प्रदेशका प्रदेश प्रमुखको नियुक्ति गरेकोमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पदमुक्त गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो।
उक्त सिफारिका आधारमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम सातै प्रदेश प्रमुखहरुलाई आइतवारै पदमुक्त गरिएको सूचना प्रकाशित भएको थियो।
संविधानको उक्त धाराको उपधारा (२) बमोजिम यसरी कुनै पनि प्रदेश प्रमुख पदमुक्त भएमा सो प्रदेशको जिम्मेवारी अर्को नियुक्ति नभएसम्म कुनै अर्को प्रदेशको प्रमुखले हेर्ने व्यवस्था गरिएको भएपनि सरकार र राष्ट्रपतिले उक्त उपधाराको व्यवस्थालाई मिच्दै सबै प्रदेशमा प्रदेश प्रमुखको रिक्तता गराएका थिए।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय