हिमाल दैनिक
संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथिको थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ । काठमाडौँ जिल्ला अदालतमा सरकारी वकीलका तर्फबाट बहस सकिएको छ भने महराको पक्षमा लवप्रसाद मैनालीले मात्र बहस गरेका छन् । महराको पक्षमा बहस गर्ने वकीलहरुको संख्या धेरै भएको र समयाभावका कारण थुनछेकबहसलाई सोमबार पनि निरन्तरता दिइने भएको हो । महराको पक्षमा बहस गर्न करिब २० जना वकिलहरुले वकालतनामा पेश गरेका छन् । गएको शुक्रबार महराको न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासले बयान लिएको थियो । महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाण्डौले गएको बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । थुनछेक बहस सकिएपछि महरा छुट्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान हुने अदालतले आदेश दिनेछ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update