हिमाल दैनिक
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आसन्न उप–निर्वाचनका लागि पार्टीका उम्मेदवारको टुंगो आइतबार लगाउने भएको छ। प्रधानमन्त्री निबास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा उम्मेदवारका बिषयमा छलफल भएको र यस बिषयमा आइतबार टुङ्गो लाग्ने जनाएको हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समय अभावका कारण उम्मेदवारको विषय टुंगो लाग्न नसकेको र भोली पुनः बैठक बसेर उम्मेदवार छनोट हुने बताए। बैठकले तल्ला कमिटिले पठाएका नामहरुको प्रारम्भिक अध्ययन मात्रै गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। बिभिन्न तहबाट सर्वसम्मत उम्मेद्वारदेखि ४–५ जना उम्मेद्वारको नाम सिफारिस भएर आएको बताउँदै यसबारे भोलिको बैठकमा विस्तृत छलफल गरी टुंग्याइने पनि बताए। बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी गराएका थिए। गत बुधबार स्वास्थ्य समस्या देखिएपछि ग्राण्डी अस्पतालमा पुगेर भर्ना भइ उपचार पश्चात बिहीबार साँझ फर्र्किएका ओलीले चिकित्सकको परामर्श अनुरुप अस्पतालमा डायलाइसिस गरिएको जनाकारी दिएको प्रवक्ता श्रेष्ठले बताए। प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमा दुइपटक हेमोडायलाइसिस गरिएको थियो। करिब १२ वर्षअघि भारतमा गएर मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको पछिल्लो समयमा प्रत्यायोजित मृगौलाले राम्रोसँग काम नगर्दा गत भदौमा सिंगापुर गएर प्लाज्माफेरोसिस गर्नु परेको थियो। त्यसपछि केही समय स्वास्थ्यमा खासै समस्या नदेखिएपनि अत्याधिक व्यस्त र धपेडीमा रहेका ओलीको पछिल्लो पटक पुनः मृगौलाको कारण समस्या देखिएपछि ग्राण्डी अस्पतालमा २४ घण्टाभित्र दुईपटक हेमोडायलाइसिस गरिएको थियो। यसरी हप्तामा कम्तिमा दुई पटक नियमित डायलाइसिस गर्ने अथवा पुनः मृगौला प्रत्यारोपण गर्ने भन्नेबारे उनको स्वस्थ्य रिपोर्ट आएपछि मात्र भन्न सकिने जानकारी प्रवक्ता श्रेष्ठले दिए।
प्रकाशित मिति: बुधबार, कात्तिक १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update