आसन्न उपनिर्वाचनको मिति नजिकिँदै जाँदा देशका प्रमुख राजनीतिक दलका नेतादेखि सर्वसाधारणको चासो प्रतिनिधि सभाका लागि हुन लागेको कास्की क्षेत्र नम्बर २ मा केन्द्रित भइरहेको छ।
देशको सुन्दर नगरी पोखराको अधिकांश शहरी भाग र कास्कीको दक्षिणी भूभागमा फैलिएको उक्त क्षेत्रबाट निर्वाचित चर्चित नेता रविन्द्र अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि त्यो क्षेत्र रिक्त रहेको थियो। उक्त स्थानमा कुन पार्टीले कसलाई उम्मेदवार बनाउला र जनताको मन र मतमा कसले डेरा जमाउला भन्ने कौतहलताको विषय हुनु स्वाभाविक हो।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का तथा विघटित एमालेका तर्फबाट लगातार तीन पटक उम्मेदवार भएर निर्वाचित भएका पूर्वमन्त्री अधिकारीको निधन पश्चात त्यस क्षेत्रमा वामदेव गौतमले चुनाव लड्नसक्ने अड्कलबाजी लामो समयसम्म चलेको थियो।
तर, केही समयअघि गौतमले आफू त्यस क्षेत्रबाट चुनाव नलड्ने भनि घोषणा गरेपछि नेकपाको उम्मेदवारका रुपमा अधिकारीकी पत्नी विद्या भट्टराईदेखि पुराना कम्युनिष्ट नेता सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङको नाम पार्टीबाट सिफारिस भएर केन्द्रमा आएको छ। जसको निर्णय हुन बाँकी नै छ।
उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि त्यस क्षेत्रमा कसरी बाजी मार्न सकिएला र आमजनता र कार्यकर्तामा पार्टीप्रति गिर्दो मनोवललाई पुनःउठाउन सकिएला भनि आन्तरिक गृहकार्यमा लागिपरेको छ।
विगतका तीन चुनावमा कांग्रेसका तर्फबाट उम्मेदवार भएकामध्ये ०७० सालको संविधान सभा सदस्य पदका प्रत्यासी सोभियतबहादुर अधिकारीदेखि ०७४ सालको निर्वाचनमा पराजित प्रखरवक्ता देवराज चालिसे र पूर्व क्षेत्रीय सभापति विरेन्द्रमान विजुक्छे लगायत १६ जना प्रत्यासी टिकटको दौडमा छन्।
त्यसमध्ये केतिपय आकांक्षी आफूले पाए ठिक र अरुले पाए बेठिक भन्ने मनोदशामा ग्रस्त पात्रहरु पनि छन् जसले आफू नभए अरुलाई पनि जित्न दिन्न भन्ने हिनभावनाबाट पीडित पनि छन्। तर, त्यहि भिडमा एउटा पुरानो, निस्कपट र निस्कलंकित अनुहार पनि छ त्यो होः खेमराज पौडेल।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बी.पी. कोइराला प्रधानमन्त्री रहेकै समयमा २०१७ सालमा कास्की क्षेत्र नम्बर ९९ को अधिवेशनमा सहभागी भएर बी.पी. र सुवर्णशम्शेरको उपस्थितिमा लिलाभक्त आचार्यलाई सभापति बनाउँदादेखि नै कांग्रेसमा लागेका पौडेल उमेरले ७४ वर्षका भए तर, अहिलेसम्म पार्टीमा कुनै अवसर पाए न त निराश भएर कुना पसे।
योग्यता र क्षमताको हिसाबले उनीमा कुनै कमि थिएन होला तर, त्यसको उचित मूल्यांकन अहिलेसम्म हुन सकेको छैन भन्ने विषयमा कास्की कांग्रेसभित्र र बाहिर कसैको विमति नहोला।
प्रतिबन्धित कालमा पोखराको महेन्द्रपुल नजिकै पूर्वसभामुख तारानाथ रानाभाट प्रधानाध्यापक र आफू शिक्षक भएर युवा अवस्थामै प्रौढ माध्यमिक विद्यालय (हालको नवप्रभात मावि) स्थापना गरी शिक्षण पेशामा लागेका पौडेलले लामो समयसम्म त्यहि पेशा अंगाले।
त्यसका बाबजूद उनी पार्टीको राजनीतिमा निरन्तर लागिरहे। कहिले कास्कीमा कांग्रेसका चर्चित नेता धीरबहादुर गुरुङलाई (०२६ सालमा) सभापति बनाएर रानाभाटसँगै आफू पनि समितिको सदस्य भएर त कहिले रानाभाटलाई सभापति, आफू उपसभापति र शुक्रराज शर्मालाई सचिव बनाएर।
उनी सँगसँगै जस्तो राजनीतिमा सक्रिय रहेका रानाभाट पार्टीको केन्द्रीय सदस्य, प्रवक्ता, सांसद, मन्त्री, महामन्त्री र सभामुखसम्म बन्न सके। उनीसँग सँगै लागेका शुक्रराज शर्माले पनि चुनावमा पटक पटक टिकट पनि पाए, राष्ट्रिय सभा सदस्य पनि बने र केन्द्रीय सदस्य पनि भए।
त्यसबाहेक कांग्रेसको राजनीतिक यात्राका कठिन समयमा पार्टीमा कुनै रुचि नभएकादेखि कांग्रेसविरुद्ध आफ्नो पद र पैसाको खोलो बगाएकाहरुले पनि लोकतन्त्र आएपछि कांग्रेसमा अवसरको तर मार्ने सौभाग्य पाए। तर, पौडेलका लागि त्यो अवसर कहिल्यै जुटेन।निष्ठाको राजनीतिमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका असली चेलाको रुपमा आफ्नो पहिचान कायम राख्न सफल पौडेल जीवनको उत्तारार्धमा पनि उत्तिकै सक्रिय छन्। आफूमा भएको राजनीतिक सोच र उर्जामा कुनै कमि देखाउन चाहँदैनन्। युवा अवस्थामा मुलुकमा प्रजातन्त्रको स्थापना हुनुपर्छ, जनताले अधिकार पाएपछि मात्रै देश बन्छ भन्ने उत्कट चाहना बोकेर बी.पी., सुवर्ण, गणेशमान र किसुनजीको संस्कार र निष्ठाको राजनीतिबाट शिक्षित र दिक्षित भएका पौडेल अहिले हरेक पार्टीमा त्यो संस्कार र निष्ठाको खडेरी परेकोमा चिन्तित छन्। त्यसका बाबजूद पनि उनीमा आत्मविश्वास घटेको छैन। र भन्छन्, ‘जनताकै मन र मतको आधारमा चुनाव लड्ने हो र दिशाविहिन अवस्थामा रहेको सरकारको कारण लोकतन्त्रप्रति जनताको गिर्दो आशा र आकांक्षालाई पुनः आड र भरोसा दिने हो।’ कास्कीको एउटा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनको परिणामले सरकार फेरबदल हुने अवस्था नभएको बताउँदै उनले भने, ‘यो चुनावी परिणामले सरकार परिवर्तन त हुँदैन तर, देश र जनताप्रति गैरजिम्मेवारीपूर्ण क्रियाकलाप गरिरहेको सरकारका लागि यो निर्वाचनको परिणामले सबक सिकाउन सक्दछ।’ यहि भावनाले उनमा अझैपनि आशा मरेको छैन। उनी भन्छन्, ‘पार्टीले यसपटक टिकट मलाई नै दिन्छ र जनताले मत कांग्रेसकै चुनाव चिन्हमा दिएर देशभित्र र बाहिर सरकारको कार्यशैली र व्यवहारप्रति सकरात्मक सन्देससहितको नसिहत दिन्छन्।’
प्रकाशित मिति: मंगलबार, कात्तिक १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय