आसन्न उपनिर्वाचनमा रिक्त रहेका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवार छनौटका लागि सिफारिस गर्ने अधिकार नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय पदाधिकारीलाई जिम्मेवारी दिने निर्णय गरेको छ।
शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा विधान बमोजिम संसदीय समिति गठन नभएको अवस्थामा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेवार चयनको प्रस्ताव वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासहित पदाधिकारीको बैठकले गर्ने प्रस्ताव सर्वसम्मत पारित भएको हो।
बैठकमा पेश भएको एकमात्र प्रस्तावको विषयमा केन्द्रीय सदस्य महेश आचार्यले भने विधान बमोजिम संसदीय समिति गठन गरी त्यसको माध्यमबाट उम्मेदवार छनौट गर्न सकिएको भए उपयुक्त हुन सक्ने धारणा राखेका थिए।
तर, तत्काल संसदीय समिति गठनको सम्भावना नभएको भन्दै पार्टीको बैठकले सर्वसम्मत रुपमा पदाधिकारीलाई त्यो अधिकार दिएको हो।
यसैबीच धरान उपमहानगरपालिका प्रमुखका लागि हुन लागेको उपनिर्वाचनमा पार्टीको तल्लो तहदेखि नै सर्वसम्मत रुपमा सिफारिस भइ आएका तिलक राईको नाम आजको बैठकले अनुमोदन गर्दै उनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
यसअघि पटक पटक बसेको पदाधिकारीहरुको अनौपचारिक बैठकले पदाधिकारी बैठकले उम्मेदवार चयन गरी केन्द्रीय कार्यसमिति बैठकमार्फत अनुमोदन गर्ने र कार्तिक १७ गते साँझसम्ममा उम्मेदवारको नाम घोषणा गर्ने सहमति बनेको थियो।
प्रतिनिधि सभा तर्फ कास्की क्षेत्र नम्बर २, प्रदेश सभातर्फ भक्तपुर, बाग्लुङ र दाङका एक एक निर्वाचन क्षेत्रमा मंसिर १४ गते निर्वाचन हुँदैछ। यसका लागि निर्वाचन आयोगले कार्तिक २१ गते मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरिसकेको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय