हिमाल दैनिक
आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालयले जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको हो । मुद्धा दर्तापछि महरालाई हिरासतमै फर्काइएको छ ।समय अभावले थुनछेक बयान र बहस भने बिहिबार हुन सकेन । प्रहरीले महरामाथि अनुसन्धान गरी कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन गत शुक्रबार बुझाएको थियो । २० दिन लामो अनुसन्धानबाट महराले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी उद्योग गरेको पुष्टि भएको प्रहरीले जनाएको थियो । प्रतिवेदनमा महरालाई मुलुकी फौजदारी संहिता २०७४ को बलात्कार प्रयाससम्बन्धी कसूरमा कैद तथा सजायको माग गरिएको थियो । प्रतिवेदन अध्ययनपश्चात सरकारी वकिल कार्यालयले महराविरूद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो । मुलुकी अपराध संहितामा जबरजस्ती करणीमा पीडितको उमेर हेरेर सजाय तोक्ने प्रावधान छ । महरालाई असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो । चार दिन हिरासतमा बसेपछि महरा बिरामी भएको भन्दै नर्भिक अस्पतालमा छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update