स्वास्थ्य अवस्था सामान्य रहेको भनिएका प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार दोस्रो पटक डायलाइसिस गरिएको छ।
मृगौला प्रत्यारोपण गरेर पटक पटक स्वास्थ्य परिक्षण गराउँदै आएका प्रधानमन्त्री ओली बुधबार अचानक अस्वस्थ भएपछि धापासीस्थित ग्राण्डी हस्पिटलमा भर्ना भएका थिए।
उनको विषयमा प्रधानमन्त्रीको सचिवालय र अस्पतालका चिकित्सकहरुले सार्वजनिक गरेको सामान्य जानकारीका बाबजूद उनको बुधबार पहिलो पटक र आज दोस्रो पटक डायलाइसिस गरिएको हो।
नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र भीमबहादुर रावल अस्पतालमा पुगेपनि उनको उपचार प्रक्रिया जारी रहेको कारण भेट्न पाएनन्।
तर, बिहानै प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले भने प्रधानमन्त्रीको अवस्था सामान्य रहेको भन्दै सम्भवत् आजै डिस्चार्ज गर्ने तयारी भइरहेको जानकारी दिए।
पोखरेलका अनुसार, ओलीको स्वास्थ्य परीक्षणको रिपोर्ट विश्लेषणपछि डिस्चार्ज गर्ने जानकारी चिकित्सकहरुले दिएका छन्।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो।
मृगौलाले काम गर्न छाडेपछि करिब १२ वर्षअघि ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो। त्यसयता प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन्।
प्रत्यारोपण गरिएको मृगौलामा समस्या देखिएपछि भदौ ५ गते प्रधानमन्त्री ओली सिङ्गापुरमा गई प्लाज्माफेरेसिसमार्फत शरीरमा जम्मा भएको एण्टीबडी नष्ट गराई तेस्रो साता स्वदेश फर्किएका थिए।
प्रधानमन्त्री ओली यहीवर्षमात्रै उपचारका लागि दुईपटक सिङ्गापुर गएर उपचार गराइसकेका छन्।
प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय