तीन नम्बर प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति इन्द्रबहादुर बानियाँले राज्यले सुनियोजित रुपमा कांग्रेसमाथि बदनाम गराउने योजना अनुसार आफूलाई जुवाको खालबाट पक्राउ गरिएको भनि समाचार सम्प्रेषण गराएको आरोप लगाएका छन्।
महाराजगञ्जस्थित एक घरबाट प्रहरीले ठूलो मात्रामा पैसा र पूर्वगृहमन्त्री बानियाँसहित २५ जना पक्राउ गरेको भनि प्रकाशित समाचारको खण्डन गर्दै बानियाँले आफू जुवा खेल्न नगएको र पक्राउ पनि नपरेको जानकारी दिए।
आइतबार बिहान कांग्रेस केन्द्रीय कार्यालयमा नेपाल तरुण दलको स्थापना दिवसमा आयोजित शुभकामना अदान प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन पुगेका बानियाँले राज्यले कांग्रेसका नेताहरुमाथि नियोजित रुपमा बदनाम गराउने योजना अनुसार आफ्नोबारेमा असत्य समाचार प्रचार प्रसार गरी मान मर्दन गरेको आरोप लगाए।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्मासँगै बसेर फोटो खिचाएर पत्रकारहरुलाई सार्वजनिक रुपमा उक्त समाचारको खण्डन समेत उनले गरे।
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय