नेपाल तरुण दलको अनुशासन विपरित गतिविधि गरेको भन्दै कारबाहीमा परेका निवर्तमान महासचिव भुपेन्द्रजंग शाहीले पार्टीको साधारण सदस्यताबाट समेत हात धोएर बस्नुपर्ने वातावरण आफैले निर्माण गर्दै गएका छन्।
अध्यक्ष जितजंग बस्नेतको विरुद्धमा संगठनभित्र गतिविधि गरेपछि पार्टी नेताहरुको परामर्श पश्चात अध्यक्ष बस्नेतले उनलाई महासचिव र साधारण सदस्यबाट पदमुक्त गरेका थिए।
त्यसको प्रतिवाद गर्दैै अध्यक्ष बस्नेतलाई नै पदमुक्त गरेको हाँस्यास्पद घोषणा गरेका निवर्तमान महासचिव शाहीले शुक्रबार तरुण दल केन्द्रीय कार्यसमितिको नाममा कार्तिक १० गते बिहान दलको स्थापना दिवस मनाउने कार्यक्रम सार्वजनिक गरेर अर्को नमूना देखाएका छन्। जसले गर्दा उनीमाथि पार्टी अनुशासन समितिले कारबाहीको कोर्रा चलाउन सहज वातावरण बनाइदिएको अनुशासन समितिका एक सदस्यले बताए।
तरुण दलको ६६औं स्थापना दिवसको अवसरमा पार्टी नेतृत्वसँगको परामर्शमा अध्यक्ष बस्नेतले कार्तिक १० गते बिहान पार्टी मुख्यालय सानेपामा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र वरिष्ठ नेता रामचन्द्र पौडेललाई विशिष्ट अतिथिसँगै अन्य नेताहरुलाई अतिथि बनाउँदै कार्यक्रमको निम्तो बाँडिसकेका थिए।
तर, अध्यक्ष बस्नेतलाई चुनौति दिने योजनामा रहेका शाहीले सुरुमा पार्टी कार्यालयमै सोही समयमा कार्यक्रम गर्न स्थान उपलब्ध गराइदिन माग गर्दै मुख्य सचिव कृष्ण पौडेलसँग आग्रह गरेका थिए। मुख्य सचिव र कार्यालयका कर्मचारीले शाहीलाई पार्टी कार्यालयमा स्थान उपलब्ध गराउन नसक्ने जानकारी दिएपछि शुक्रबार उनले सोही दिन, बार मात्र होइन समय पनि बिहानकै समय जुदाएर नेताहरुको फोटोसहितको व्यानर आफ्नो फेसबुकमार्फत सार्वजनिजक गरेका छन्।
यसरी कार्यक्रम सार्वजनिक गर्दा सबैभन्दा माथि पार्टीका पूर्व नेताहरुको फोटो र त्यसभन्दा पछि प्रमुख अतिथिका रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेल र विशिष्ट अतिथिमा महामन्त्री शशांक कोइाराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, सुजाता कोइराला, शेखर कोइराला, बलबहादुर केसी र मीनेन्द्रप्रसाद रिजालको फोटो राखेका छन्।
तर, उनले आफ्नो निमन्त्रणा पत्रमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्धय विमलेन्द्र निधि र विजयकुमार गच्छदारसहितका अन्य नेताहरुको नाम र फोटो मात्र होइन, शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमस्थलको नाम समेत उल्लेख गरेका छैनन्।
पोखरामा तीन वर्षअघि सम्पन्न महाधिवेशनमा गुटगत आधारमा सहमति गरी महासचिव बनेर ३४ महिनासम्म अध्यक्ष बस्नेत अन्य दुई पदाधिकारीसहितको चार सदस्यीय कमिटीमा काँधमा काँध मिलाएर अघि बढेपनि कार्यकाल सकिनु दुई महिनाअघि अध्यक्ष बस्नेतविरुद्ध उत्रिएर गुटभित्रको राजनीतिक दुनो सोझ्याउने असफल प्रयास गरेका थिए।
तर, विगतमा उनलार्ई विद्यार्थी राजनीतिदेखि पार्टी र तरुण दलभित्र स्थापित गराउने नेताहरुले समेत उनको गतिविधि र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीविरुद्ध सुरु भएको अनुशासनको कारबाहीबारे कुनै प्रतिवाद वा बचाउमा नलागेपछि शाहीले पार्टी संगठनभित्र कसरी सुरक्षित हुन सकिन्छ भनि अनेक गतिविधि गरिरहेका छन्।
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय