प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु तोकिएको समयभन्दा अगाडी नै सम्पन्न गर्न निर्देशन दिएका छन्।
बुधबार सिंहदरबारस्थित एक्सन रुमबाट बिभिन्न राष्ट्रिय गौरवको आयोजनाहरुको निर्माणको अवस्थाका बारेमा जानकारी लिदै प्रधानमन्त्री ओलीले अन्य आयोजना भन्दा राष्ट्रिय गौरवको आयोजना निकै महत्वपूर्ण रहेको भन्दै निर्धारित समयभन्दा अगाडी नै सम्पन्न हुनेगरि काम गर्न मन्त्री, सचिव, आयोजना प्रमुख लगाएतलाई निर्देशन दिए।
सरकारले केही गरेन र गर्न सकेन भन्ने पार्टीभित्रै र बाहिरका नेतादेखि सर्वसाधारणबाट जनगुनासो आइरहेकोबेला उखान र टुक्कामा पोख्त प्रधानमन्त्री ओलीले नेपाली समाजमा प्रचलित उखानः ‘रोइरहनु भन्दा गाइरहनु निको’ भन्ने भनाइलाई चरितार्थ गरेरै भएपनि सरकारले काम गरिरहेको छ भन्ने सन्देश प्रवाह गर्न सफल भए।
प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका योजनाहरु गौरवमय हुनुपर्ने समेत बताए।
सम्बन्धित मन्त्रीलाई सँगै राखेर प्रधानमन्त्री ओलीले भिडियोमार्फ एक्सन रुमबाटै आयोजनाको अनुगमन गरेका थिए।
आयोजनाहरुको निर्माण कार्य सन्तोषजनक पाइएको प्रधानमन्त्रीले बताएको ऊर्जा,जलश्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले जानकारी दिए।
बुधबार प्रधानमन्त्री ओलीले पोखरा र भैरहवाका अन्तराष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, माथिल्लो तामाकोशी विधुत योजना, भेरी–बवई डाइभर्सन, रानीजमरा, सिक्टा सिंचाई योजनाको जानकारी लिएको मन्त्री पुनले बताए।
ऊर्जा, जलस्रोत र सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग सम्बन्धित सात आयोजनाको आज अनुगमन गरिएको थियो।
ऊर्जामन्त्री वर्षमान पुन, संस्कृतिमन्त्री योगेश भट्टराई, अर्थमन्त्री डा युवराज खतिवडासहित सम्बन्धित मन्त्रालयका सचिव र आयोजना प्रमुखसँग प्रधानमन्त्री ओलीले छलफल समेत गरेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चालू आर्थिक वर्षको अघिल्लो तीन महिनाको प्रगति र ती आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गरेको थिए।
प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे बेलाबेला भिडियो कन्फ्रेन्समार्फत जानकारी लिँदै आएका छन्। आयोजनाको मुख्य काम हुने स्थानमा सिसी क्यामेरा जडान गरिएकाले प्रधानमन्त्री ओलीले सम्बन्धित आयोजनाको काम प्रत्यक्ष हेर्ने गरेका छन्।
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय