नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आग्रहमा प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले आज साँझका लागि बोलाएको परिषदको बैठक स्थगित गरेका छन्।
सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्ता पारिएका व्यक्तिहरुको विषयमा छानविन गर्न गठित आयोगका प्रमुखसहित पदाधिकारी तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगसहित झण्डै आधा दर्जन संवैधानिक निकायमा दुई दर्जन पदाधिकारीको नियुक्तिका लागि प्रधानमन्त्री ओलीले परिषदको बैठक अपरान्ह ५ बजेका लागि डाकेका थिए।
तर, परिषद सदस्य समेत रहेका प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति देउवाले मंगलबार बिहान पार्टीका पदाधिकारीहरुको बैठकले आजका लागि डाकिएको परिषद बैठक केही दिन पर सार्न प्रधानमन्त्री ओलीसँग आग्रह गर्न भनेकाे थियाे।
त्यसलगत्तै देउवाले प्रधानमन्त्रीसँग टेलिफाेन सम्पर्क गरी संवैधानिक निकायहरुमा पदपूर्ति गर्दा सरकार, सत्तापक्ष वा विपक्षको अनुकूलता वा बहुमत र अल्पमतको आधारमा निर्णय लिनु भन्दा पनि साझा राष्ट्रिय आवश्यकता र दायित्व निर्वाह गर्न सकभर तटस्थ र उच्च नैतिक निष्ठा भएका व्यक्तिको नियुक्तिका लागि आन्तरिक परामर्श र सहमतिका आधारमा गर्न सुझाव दिएका दिए।
यसका लागि परिषदको बैठकको एजेण्डामाथि अनौपचारिक छलफल गरी सहमति कायम गरेर औपचारिकता दिनु उपयुक्त भएको भन्दै देउवाले प्रधानमन्त्री ओलीलाई आफ्नो अजरवैजानमा हुने असंलग्न राष्ट्रहरूकाे शीखर सम्मेलनमा भाग लिएर स्वदेश फिर्ता भएपछि बैठक बोलाउन पनि आग्रह गरेका थिए।
देउवाको सुझाव पश्चात अपरान्ह प्रधानमन्त्री तथा परिषद अध्यक्षको सचिवालयबाट सभापति देउवालाई आजका लागि तय भएको संवैधानिक परिषदको बैठक स्थगित भएको जानकारी दिएको देउवा निकट स्रोतले बतायो।
अख्तियार, निर्वाचन आयोग, मुस्लिम आयोग, वित्त आयोग, मधेसी आयोग, मेलमिलाप आयोग, वेपत्ता छानविन आयोग, दलित आयोग लगायतका संवैधानिक निकायमा प्रमुखदेखि पदाधिकारीहरुको नियुक्ति हुन सकिरहेको छैन।
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय