प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्य निरुपण तथा मेलमिलाप आयोग लगायत रिक्त रहेका संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा संवैधानिक परिषदले राजनीतिक आस्था र भागवण्डा भन्दा पनि उच्च नैतिकता र निष्ठालाई प्राथमिकतामा राखेर नियुक्ति गर्नुपर्ने सुझाव दिएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले संवैधानिक निकायहरुको पदपूर्ति सत्ता र प्रतिपक्षको अनकुलता भन्दा पनि राज्यको साझा आवश्यकताका आधारमा साझा धारणा बनाएर तटस्थ र निष्पक्ष व्यक्तिको सिफारिस गरिनु पर्ने पक्षमा पार्टी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
यसरी संवैधानिक निकायमा नियुक्तिका लागि गरिने संवैधानिक परिषदको बैठक पूर्व परिषदका अध्यक्ष एवं प्रधानमन्त्री तथा अन्य सदस्यहरुबीच पहिले अनौपचारिक छलफल गरी साझा धारणा बनाएर औपचारिक बैठकले निर्णय लिनु उपयुक्त हुने कांग्रेसको अडान छ।
बिहीबार असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन जानु अघि रिक्त रहेका संवैधानिक निकायमा नियुक्तिको सिफारिसका लागि परिषद बैठक डाक्ने तयारीमा रहेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनी अजरवैजानबाट फर्किए लगत्तै राख्न सभापति देउवाले प्रधानमन्त्री ओलीसँग टेलिफोनमार्फत आग्रह गरेका छन्।
यसअघि प्रधानमन्त्री ओलीले विपक्षी दलका नेता समेत रहेका देउवालाई आज अपरान्ह ५ बजेको संवैधानिक परिषद बैठकमा उपस्थित हुन पत्र मार्फत जानकारी गराएका थिए।
यसअघि सोमबार पनि प्रधानमन्त्री ओलीले आफ्नो दलका नेतासहित प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता तथा सभापति देउवालाई बालुवाटारमा बोलाएर लामो समयदेखि रिक्त रहेको सत्य निरुपण तथा मेलमिलाप आयोग तथा वेपत्ता पारिएका व्यक्तिकोबारेमा छानविन गर्न गठित आयोगमा पदपूर्तिको विषयमा अनौपचारिक परामर्श गरेका थिए।
सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्ता छानविन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुन नसक्दा त्यी निकायहरुको काम प्रभावित हुँदै आएको छ।
कांग्रेस पदाधिकारी बैठकले राज्यका संवैधिानक निकायमा हुने नियुक्तिका विषयदेखि राष्ट्रिय राजनीति र जनचासोका विषयमा पार्टीभित्रका आन्तरिक परामर्श गरी साझा धारणा बनाएर अघि बढ्नु पर्नेमा पनि सहमति भएको छ।
यसअघि कांग्रेसका सभापतिदेखि प्रवक्ता र अन्य नेताविशेषले कतिपय घटनामा आफूलाई लागेका विचार विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दा पार्टीको आधिकारिक धारणा ओझेलमा पर्ने तथा नेतृत्वमाथि नै नकरात्मक टिकाटिप्पणी हुँदै आएको थियो।
आजको पदाधिकारी बैठकमा मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा पार्टी उम्मेदवारको चयनदेखि पार्टीको रणनीति तयार गर्न कार्तिक ७ गतेका लागि डाकिएको केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डाबारे पनि सामान्य छलफल भएको थियो।
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय