सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच सोमबार समसामयिक राजनीतिक विषयमा भेटवार्ता र छलफल भएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भेटवार्ताका लागि आमन्त्रण गरेका थिए।
केन्द्रीय सदस्यद्धय मीनेन्द्रप्रसाद रिजाल र रमेश लेखकलाई साथ लिएर गएका सभापति देउवाले प्रधानमन्त्री ओली तथा सत्तापक्षका नेतासँग समसामयिक विषयमा छलफल गरेका थिए।
बैठकमा सहभागी कांग्रेस नेता रिजालका अनुसार, दशैं सुरु भएपछिको लामो समयसम्म दुई दलका नेताहरुबीच भेटवार्ता नभएकोमा आज प्रधानमन्त्री ओलीले बोलाएपछि आफूहरु छलफलका लागि गएका थिए।
उक्त छलफलमा शान्ति प्रक्रियाको टुंगो लगाउनु पर्ने महत्वपूर्ण विषयका रुपमा लामो समयदेखि रहेको सत्य निरुपण तथा मेलमिलाप आयोग तथा वेपत्ता पारिएका व्यक्तिको विषयमा छानविन गर्न गठित आयोगमा पदाधिकारी नियुक्तिको विषयमा छलफल भएपनि त्यसबारे खासै कुनै निर्णय हुन सकेन।
यी दुई आयोगमा पदाधिकारी नियुक्तिको विषयमा दुई दलबीच आन्तरिक छलफल गरी पुनः बैठक बसेर जतिसक्दो चाँडो आयोगलाई पूर्णता दिनेबारे सहमति भएको रिजालले बताए।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय