सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले केही वर्षमै मुलुकमा आमरुपमा परिवर्तनको आभाष हुँदै जाने बताएका छन् । काभ्रेपलाञ्चोकको पाँचखाल युनाइटेड फुटबल एशोसियशन (पुफा)द्वारा आयोजित १० दिने पाँचखाल महोत्सव आज शुभारम्भ गर्दै उहाँले सरकार हाल विकासको महाअभियानमा रहेकाले केही वर्षमै देशमा परिवर्तनको महसुस हुने जिकिर गरेका हुन् ।
मन्त्री बाँस्कोटाले मुलुकको परिवर्तनलाई आत्मसात् गर्नसक्ने सामथ्र्य पाँचखालसँग रहेको बताए। उनले भने, “पाँचखाल अन्तरराष्ट्रिय कनेक्टिभीटीको प्रमुख नाका हो, विकासोन्मुख पाँचखाललाई अन्तरराष्ट्रिय क्षेत्रमा पनि अघि बढाइरहेका छौँ ।” सरकारको यो शिलान्यासको वर्ष भएको र अर्को वर्ष उद्घाटनको वर्ष भएको चर्चा गर्दै मन्त्री बाँस्कोटाले वर्तमान सरकारको कामबारे एक वर्षमै परिणाम नखोज्न आग्रह गरे ।
उनले महोत्सवलाई मेला, पर्व, पराम्परा र संस्कृतिको रुपमा विकसित गर्दै जान्ुपर्नेमा जोड दिए । “मेला तथा महोत्सवले स्थानीय परम्परा, सांस्कृतिक रीतिरिवाज तथा उत्पादनलाई प्राथमिकता दिनुपर्दछ र प्रचारप्रसारमा ल्याउनुपर्दछ,” मन्त्री बाँस्कोटाले भने, “तराईमा हाट बजार तथा पहाडमा जात्रा परम्परागत रुपमा चलिआएकाले मेलाको सम्भावना भोलिका दिनमा अझै बढ्छ ।”
कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समितिका उपप्रमुख मञ्जु गौतम, पाँचखाल नगरपालिका प्रमुख महेश खरेललगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए । आउँदो ‘भ्रमण वर्ष–२०२०’ लक्षित उक्त महोत्सवमा २० कृषि उत्पादनका स्टलसहित स्थानीय समुदाय तथा व्यापारिक प्रयोजनका १०५ स्टल रहेको महोत्सव संयोजक एवं आयोजक संस्थाका सचिव जीवन नेपालले जानकारी दिए । उद्घाटनअघि झाँकीसहितको ¥यालीले पाँचखाल नगर परिक्रमा गरेको थियो । महोत्सव एक लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय