विश्वकै अतिकम विकसित राष्ट्रको सूचिमा रहेको नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति म्यानमारको चारदिने भ्रमणका लागि कार्यालयबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्न महंगो हेलिकप्टरको प्रयोग गर्ने सम्भवत नेपालको पहिलो राष्ट्राध्यक्ष बन्न पुगेकी छिन्।
म्यानमारका राष्ट्रपति उ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार म्यानमारको चारदिने राजकीय भ्रमणका लागि निस्कने क्रममा सडकको ट्राफिक जाम छल्न भन्दै राष्ट्रपति भण्डारीको सवारी शीतल निवासबाट हेलिकप्टरमार्फत सोझै त्रिभुवन विमानस्थलमा ओरालिएको थियो।
अन्य समयमा राष्ट्रपति भण्डारीको सडक यात्रा विशेषगरी विदेश यात्राका क्रममा घण्टौंसम्म सडक खाली गराउने नाममा सर्वसाधारणले सास्ती व्यहोर्दै आएकोमा आज भने राष्ट्रपति भण्डारीले हालैमात्र सरकारले करिब एक अर्ब ७० करोडमा खरिद गरेको महंगो हेलिकप्टरको सदुपयोग गरिन।
विदेश भ्रमणमा निस्कनुअघि राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापाले बिदाई गरेका थिए।
राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत सलामी अर्पण गरेको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले त्यहाँका राष्ट्रपति मिन्टसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। उनले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्ने जनाइएको छ।
म्यानमारका राष्ट्रपति मिन्टले आयोजना गर्ने राजकीय भोजमा राष्ट्रपति भण्डारी सहभागी हुनेछिन्। साथै उनले पिङ ओ लिङमा म्यानमारका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम रहेको उल्लेख गरिएको छ।
उनले बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्त्वका ठाउँका पनि भ्रमण गर्ने पनि बताइएको छ।
राष्ट्रपतिको टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायतका प्रतिनिधि रहेका छन्।
राष्ट्रपति भण्डारी म्यानमारको भ्रमण सकेर कात्तिक २ गते जापान जाने कार्यक्रम रहेको छ। उनले जापानका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा उपस्थित हुने जनाइएको छ। भ्रमणपछि राष्ट्रपति भण्डारी कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
नेपाल र म्यानमारबीच सन् १९६० देखि कूटनीतिक सम्बन्धको सुरुआत भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीको म्यानमार भ्रमण दुई मुलुकबीच इतिहासदेखि चल्दै आएको सम्बन्धलाई थप बलियो बनाउनका लागि हुन लागेको जनाइएको छ । गत वर्ष म्यानमारका राष्ट्रपति मिन्टले नेपाल भ्रमण गरेका थिए।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय