हिमाल दैनिक
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम आगामी कात्तिक १० गतेभित्र सिफारिस गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रको कमिटी र जिल्ला कमिटीलाई तीन÷तीन जनाको नाम कात्तिक १० गतेभित्र केन्द्रमा सिफारिस गर्न भनेको हो। सोही सिफारिसको आधारमा अन्तिम निर्णय केन्द्रले गर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिए। निर्वाचन क्षेत्रीय कमिटी नबनेको स्थानमा जिल्ला कमिटी र प्रदेश कमिटीलाई नाम सिफारिस गर्न निर्देश गरिएको छ भने प्रदेश कमिटीको हकमा पनि त्यही कुरा लागू हुने प्रवक्ता श्रेष्ठले बताए। यस्तै नगरपालिका र गाउँपालिकाका मेयर, उपमेयर वा अध्यक्ष, उपाध्यक्षको हकमा सम्बन्धित गाउँ वा नगरकमिटी वा जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले उम्मेदवारको निर्णय गर्ने छ। वडाको हकमा भने सम्बन्धित वडा कमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए। https://www.facebook.com/himaldainik/videos/531288597443774/ बैठकले पार्टीको संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई चयन गरेको छ। यसअघि उक्त विभागमा सचिवालय सदस्य बामदेव गौतम र जनार्दन शर्मालाई चयन गरिएको थियो। विभागमा तीन जना थपिएपनि विभाग अझै पूर्ण भएको छैन। बैठकमा मन्त्रीमण्डल हेरफेरका बारेमा भने कुनै छलफल नै नभएको प्रवक्ता श्रेष्ठले बताए। दशैंको लगत्तै नेकपाका दुई अध्यक्षबीच मन्त्रिमण्डलमा हेरफेर गर्नेबारे गम्भीर छलफल भएको समाचार प्रकाशित भएपछि सरकारमा रहका कतिपय मन्त्रीहरु आफ्नो पद जोगाउन र कपितय बाहिर रहेर मन्त्रीको अपेक्षा गरेका नेकपाका सांसदहरु मन्त्रिमण्डलमा आफूलाई प्रवेश गराउने दौडधूपमा लागिसकेका छन्।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update