गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा शुरु भएको छ।
तीन दिनसम्म चल्ने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन।
सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले देशको विकास र समृद्धिमा योगदान गरेकामा एनआरएनएको प्रशंसा गरिन्।
पूर्वाधार विकास तथा लोककल्याणमा गरेको सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको राष्ट्रपति भण्डारीले बताइन्।
उनले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने व्यवस्था संविधानमा रहेको भन्दै सो व्यवस्था चाँडोभन्दा चाँडो कार्यान्वयन गरिने विश्वास पनि व्यक्त गरिन्।
उनले अहिले मुलुकमा लगानीको वातावरण रहेको भन्दै एनआरएनएका सदस्यहरुलाई नेपालमा लगानी गर्न आह्वान समेत गरिन्।
काठमाडौैंको ह्यात रेजेन्सीमा भएको कार्यक्रममा समाचार संकलनका लागि पुगेका नेपाली सञ्चारमाध्यमका प्रतिनिधिहरुलाई त्यहाँ उपस्थित सुरक्षाकर्मीले सूचना विभागको प्रेस पास देखाउँदा पनि प्रवेश नदिएर दुव्र्यवहार गरेकोमा पत्रकारहरुले आपत्ति जनाएका छन्।
त्यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उच्च आर्थिक वृद्धिको दिशामा मुलुक अघि बढेकाले त्यसलाई सघाउन गैरआवासीय नेपालीलाई आग्रह गरे।
संघका पूर्वअध्यक्ष शेष घलेले संघले भिजन २०२० मा गरेको बाचा पूरा गर्न संघ नेतृत्वको ध्यानाकर्षण गराए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाले राज्य गैरआवासीय नेपालीप्रति गर्व गर्नुपर्ने भन्दै १६ वर्षमा संघ निकै बलियो बनेको बताइन्।
‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने सन्देशका साथ आयोजित सम्मेलनले आउँदो कार्यकालका लागि नयाँ नेतृत्व पनि चुन्नेछ। अध्यक्षका लागि कुमार पन्त र कुल आचार्यले आफ्नो आफ्नो समूह बनाएर प्रतिस्पर्धा गर्दैछन्।
सम्मेलनमा ८१ मुलुकका करिब २५ सय गैरआवासीय नेपाली प्रतिनिधि सहभागी रहने बताइएको छ।
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय