प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चियापान कार्यक्रममा आफू सहभागी भएपछि कांग्रेससँग विग्रीएको सम्बन्ध पनि सुमधुर र सुदृढ भएको दाबी गरेका छन्।
विगत चार दशकदेखि कांग्रेसले दशैं, तिहार र छठ जस्ता राष्ट्रिय चाडहरुको अवसर पारेर आइतबार आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन कांग्रेस मुख्यालय सानेपा पुगेका प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन्।
शनिबार र आइतबार चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतदेखि विदाईसम्मको चटारो सकेर अपरान्ह कांग्रेसको चियापानमा सरिक हुन पुगेका प्रधानमन्त्री ओलीले संक्षिप्त मन्तव्य दिँदै नेपाली चाडपर्वहरुले समाजमा सुसम्बन्ध कायम गर्ने र सम्बन्ध विग्रीए पनि सुमधुर बनाउने विश्वास व्यक्त गरे।
उनले कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल विगत ४५ वर्षदेखिको आफ्नो साथी रहेको बताउँदै आफूहरुले लोकतन्त्र प्राप्तिको लडाई सँगै लडेको मात्र नभई जेल पनि सँगै बसेको स्मरण गराए।
https://www.facebook.com/himaldainik/videos/514159072516308/?t=43
उनले रामशरण महत लगायतका अन्य नेताहरुसँग पनि लामो समयदेखि लोकतन्त्रको सहयात्राका क्रममा गहिरो समझदारी र मित्रता रहेको पनि बताए।
‘कम्तिमा लोकतन्त्रका लागि सँगै लड्ने र लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा तलमाथि पर्न नदिने हामी सबैको साझा कर्तव्य हो, त्यसैले हाम्रो सम्बन्ध राम्रो छ। तर, सम्बन्ध विग्रियो भने पनि यस्ता चाडहरुले सुमधुर बनाउँछ। म निम्ता मान्न आएपछि समबन्ध राम्रो नभएपनि राम्रा हुन्छ। अहिले त सम्बन्ध राम्रो छ। झन सुदृढ हुन्छ,’ प्रधानमन्त्री ओलीले भने।
यस्ता चाडहरुमा सामाजिक सुसम्बन्ध सुमधुर बनाउने उद्देश्यले मान्ने परिपाटी र अभ्यासलाई निरन्तरता दिन जरुरी रहेको बताउँदै उनले यो सौखमा मात्रै तयार भएको नभई समाजको सुसम्बन्ध र सुव्यवस्था कायम गरी समाजमा कसैले अर्घेल्याइ नगरोस् भनि अघि बढाइएको बताए।
उनले यस्ता चाडहरुमा नारी शक्तिको पूजा र सम्मान गरिने असल परम्परा रहेको बताउँदै कांग्रेसले जे गरेको छ त्यो राम्रो गरेको बताए।
यस्ता चाडहरुका नराम्रा कुराबाट जोगिएर राम्रा र असल परम्परालाई अगाडि बढाउँनु पर्नेमा जोड दिँदै उनले यस अभ्यासमा जुट्न आग्रह समेत गरे।
उनले यसरी चियापान तथा शुभकामना आदान प्रदानको कार्यक्रम गरेकोमा कांग्रेस र यसको नेतृत्वलाई धन्यवाद दिँदै जय नेपाल समेत भन्न भ्याए।
सरकार र प्रमुख प्रतिपक्षी दलबीचको कटुताको विषयमा पत्रकारले राखेको जिज्ञासामा ओलीले आफू शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भएको बेला अरु कुरा गरेर कार्यक्रमको रौनक घटाउन नहुने तर्फ संकेत गरे।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय