हिमाल दैनिक
राष्ट्रपति सीले देउवासँग भनेः नेपाल र नेपाली कांग्रेससँगको मित्रतामा सत्ताको हिसाब हुँदैन
Deuba and Xi Jinping
नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ता लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग एक्लाएक्लै भेटवार्ता गरेका छन्। शनिबार साँझ भारतको चेन्नाईबाट नेपाल आइपुगे लगत्तै राष्ट्रपति सीले नेपालकी राष्ट्रपति भण्डारीसँग शीतल निवासमा पुगेर औपचारिक भेटवार्ता गरेका थिए। त्यसलगत्तै सोल्टी होटल पुगेका राष्ट्रपति सीले राजनीतिक दलका नेतासँगको भेटवार्ताका रुपमा कांग्रेस सभापति देउवासँग करिब २० मिनेट लामो वान–टु–वान वार्ता गरे। देउवासँगको भेटवार्ता लगत्तै चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, चिनियाँ राष्ट्रपति सीले चीन र नेपालबीच गहिरो मित्रता र असल भाइचारा सम्बन्ध रहेको बताउँदै यो सम्बन्धलाई अझ दिगो र बलियो बनाउने विषयमा ध्यान केन्द्रीत रहेको धारणा राखेका थिए। उनले यसका लागि नेपालमा कुन पार्टी सत्तामा छ भन्ने कुराले अर्थ नराख्ने पनि बताएका थिए। नेपाली कांग्रेससँग चीनको ऐतिहासिक सम्बन्ध रहेको बताउँदै सीले चीनसँगको सम्बन्ध विकास गर्न कांग्रेस र यसको नेतृत्वमा रहेका विगतका सरकारले खेलेको भूमिका आफू र आफ्नो देशका जनताले कहिल्यै नबिर्सिने धारणा पनि राखेका थिए। साथै राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पाटीले नेपाली कांग्रेसँग निकट सम्बन्ध बढाएर आपसी सहयोग र सदभाव बढाउन चाहेको बताएका थिए। जवाफमा कांग्रेस सभापति देउवाले नेपालको एक चीन नीतिप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै चीनले नेपालको दीर्घकालिन विकास परियोजनामा पुर्याएको योगदानप्रति धन्यवाद पनि व्यक्त गरेका थिए। साथै देउवाले आफू पहिलो पटक नेपालको प्रधानमन्त्री रहँदा तत्कालिन चिनियाँ राष्ट्रपति जियान जमिनले नेपाल भ्रमण गरेको स्मरण गर्दै राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास पनि व्यक्त गरेका थिए। https://www.facebook.com/himaldainik/videos/536378367137572/?t=0
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update