दक्षिणको छिमेकी राष्ट्र भारत भ्रमणमा रहेका उत्तरको छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ करिब १९ घण्टाको लागि शनिबार अपरान्ह नेपालको राजकीय भ्रमणका लागि काठमाडौं उत्रँदैछन्।
अपरान्ह ३ बजेतिर नेपाल उत्रिए लगत्तै चिनियाँ राष्ट्रपति सी उनका लागि बासस्थानको व्यवस्था गरिएको सोल्टी होटलमा गएर केहीबेर आराम गर्ने कार्यतालिका रहेको छ।
त्यसपछि उनी आजै साँझ आफ्ना समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ताका लागि शीतल निवास पुग्नेछन्।
राष्ट्रपति भण्डारीसँगको भेटवार्ता पश्चात चिनियाँ राष्ट्रपति सी पुनः सोल्टी होटलमा फर्किने छन्।
जहाँ उनले नेपाली राजनीतिक नेताहरुसँगको भेटको सुरुवात प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताबाट गर्ने छन्।
सरकारी स्रोतका अनुसार, चिनियाँ राष्ट्रपति सीले कांग्रेस सभापति देउवालाई साँझ आफू बसेकै होटल सोल्टीमा ७ः१५ बजेका लागि भेट्न समय दिएका छन्।
सभापति देउवा निकट स्रोतका अनुसार, राष्ट्रपति सीले कांग्रेस सभापति देउवासँग एक्लाएक्लै भेट्न चाहेकोले देउवासँग पार्टीका अन्य नेता तथा पदाधिकारी कोही पनि संलग्न नहुने बताइएको छ।
त्यसपछि आजै साँझ सीको सम्मानमा राष्ट्रपति भण्डारीले सोल्टी होटलमै रात्रीभोजको आयोजना गरेकी छिन्। जहाँ चिनियाँ राष्ट्रपति तथा उनको भ्रमण दलका सदस्यसँगै नेपालका उच्च पदस्थ पदाधिकारी र प्रतिनिधिहरुको उपस्थिति रहनेछ।
चिनियाँ राष्ट्रपति सीले नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारका प्रतिनिधिहरुसँग आइतबार बिहान ७ बजेपछि भेटवार्ता गरी दुइपक्षिय हितका विषयमा वार्ता र सहमति पत्रमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्धितीय अध्यक्ष पुष्पकमल दाहाललाई भने सीले भोली बिहान १०ः३० बजे स्वदेश फर्किनु अघि भेटवार्ता गर्ने तयारी रहेको पनि सरकारी स्रोतले बतायो।
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय