करिब २३ वर्षपछि हुन लागेको उत्तरी मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको बसाई करिब १९ घण्टाको हुने भएको छ।
भारतको चेनइमा हुने अनौपचारिक सम्मेलनमा भाग लिन शुक्रबार भारत पुग्नै लागेका चिनियाँ राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा राजकीय भ्रमणका लागि शनिबार अपरान्ह ३ बजेपछि नेपालको एकमात्र अन्र्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार, नेपाल ओर्लिए लगत्तै अपरान्ह ४ः३० बजेपछि उनी राष्ट्रपति भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शीतल निवास पुग्ने छन्।
नेपालका समकक्षी राष्ट्रपति भण्डारीसँगको भेटवार्ता पश्चात चिनियाँ राष्ट्रपति अपरान्ह ५ः३० बजे सोल्टी होटलमा पुग्ने छन्। त्यहि साँझ उनको स्वागतमा राष्ट्रपति भण्डारीले रात्रीभोजको आयोजना गर्नेछन् जहाँ चिनियाँ राष्ट्रपतिका अतिरिक्त विशिष्ट पाहुनाहरुको सहभागिता हुने छ।
आइतबार बिहानै ८ः३० देखि करिब १० बजेसम्मको समयमा चिनियाँ राष्ट्रपति सीले नेपाल सरकारका प्रतिनिधिदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग शिष्टाचार भेटवार्ता पश्चात उनी बिहान १०ः३० बजेपछिको उडानबाट स्वदेश फिर्ता हुने छन्।
चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा समाचार संकलनका लागि पुग्ने पत्रकारहरुका लागि परराष्ट्र मन्त्रालय र संचार मन्त्रालयले सरकारी सञ्चार माध्यमका पत्रकारलाई राष्ट्रिय पोशाक तथा निजी सञ्चार माध्यमका प्रतिनिधिलाई पुरुषका हकमा सुट र टाई तथा महिलाका हकमा सारी अथवा भद्र किसिमको कुर्था लगाउनु पर्ने व्यवस्था गरेको छ।
प्रकाशित मिति: मंगलबार, असोज २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय