चिनियाँ राष्ट्रपति सि जिनपिङको आसन्न भारत तथा नेपालको तीनदिने भ्रमण तालिका तीन देशका विदेश मन्त्रालयले एकैपटक बुधबार मात्रै सार्वजनिक गरेका छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चिनिङले बुधबार पत्रकार सम्मेलन गरी राष्ट्रपति सि अक्टोवर ११ देखि १३ अर्थात असोज २४ देखि २६ गतेसम्म भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा भारत र नेपालको भ्रमण गर्न लागेको जानकारी दिए।
त्यसलगत्तै भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणमा भारतको चेनइमा हुने अनौपचारिक सम्मेलनमा शुक्रबार र शनिबार भाग लिन आउने जानकारी दिएको छ।
उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्रीसँग चीनका राष्ट्रपतिले दुई देशबीचको आपसी सम्बन्ध तथा विभिन्न क्षेत्रको विकास सहयोग आदान प्रदानको विषय लगायत क्षेत्रीय र ग्लोवल महत्वका विषयमा पनि छलफल गर्ने बताइएको छ।
त्यसैगरी नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, चिनियाँ राष्ट्रपति सि शनिबार भारतको चेनइको भ्रमणसकेर राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको राजकीय भ्रमणमा आउने कार्यक्रम रहेको छ।
भ्रमणको तिथि, मिति टुंगो नलाग्दै नेपालले चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका लागि राजधानीका सडकहरु मर्मत गरी सजिसजाउमा व्यस्त भएको थियो।
शनिबार र आइतबार गरी दुई दिनको भनिएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा राष्ट्रपति सिले नेपालकी राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता हुने छ।
उक्त अवसरमा राष्ट्रपति सिसँग विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले पनि भेटवार्ता गर्ने बताइएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा रहेको सरकार र त्यसको नेतृत्वले सि पथलाई आफ्नो पार्टीको नयाँ पथका रुपमा अवलम्बन गर्ने तयारीका साथ भएको दुई देशका कम्युनिष्ट पार्टीबीचको सहमतिले नेपालको पछिल्लो झुकाव उत्तरतर्फको छिमिकी राष्ट्र चीनतर्फ ढल्किएको विश्लेषण कुटनीतिक क्षेत्रका जानकारहरुले गर्न थालेका छन्।
त्यहि समयमा करिब २३ वर्षपछि चीनका राष्ट्रपतिको तहबाट नेपालको भ्रमण हुन लागेकोमा यसलाई नेपालले आफ्नो राष्ट्रिय हितमा कसरी केन्द्रित गराउँछ त्यो हेर्न बाँकी नै छ।
प्रकाशित मिति: आइतबार, असोज १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय