निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी महिला कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता भएको छ।
पीडित भनिएकी महिला रोशनी शाहीले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणीकाे आरोपमा शुक्रबार मुद्दा दर्ता गरेकाे प्रहरी स्राेतले बतायाे। स्रोतका अनुसार पीडित महिला रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएकी हुन्।
गत आइतबार महराले आफ्नै डेरामा आएर आफूमाथि बलत्कार गरी हातपात गरेको भन्दै पीडित महिलाले सोमबार सञ्चारमाध्यमबाट घटनाको सार्वजनिक गरेकी थिइन्।
त्यसलगत्तै भोलिपल्ट मंगलबार चौतर्फ दबाब परेपछि महराले पार्टी केन्द्रीय सचिवालयको निर्देशनको वेवास्ता गर्दै सभामुखबाट अनुसन्धान प्रक्रिया नसकिएसम्का लागि सभामुखबाट राजीनामा दिएपनि सांसद पदबाट भने राजीनामा दिएका थिएनन्।
बरु उल्टै पार्टी निकट पत्रकार र मिडियाकर्मीलाई लगाएर पीडित महिलाको वयान फेर्न लगाएपछि घटनाले अर्कै मोड लिएको थियो।
त्यतिमात्र होइन, महराको बचाउका लागि उनका श्रीमान चित्रजंग शाहीले आफ्नी श्रीमतीसँग अलग बस्ने सहमति भएको भन्दै घरायसी पत्र सार्वजनिक गरेका थिए।
शाहीले वयान फेरेपछि महरामाथि बलत्कारको आरोपमा लाग्नसक्ने फौजदारी अभियोग र पुष्टि भएमा हुनसक्ने ७ देखि १० वर्ष बलात्कारको अभियोगमा र थप ४ वर्ष आफ्नै सरकारी कार्यालयमा कार्यरत महिलामाथि भएको करणी कसूरमा जेल सजाय हुन सक्ने स्थितिबाट उनलाई उन्मुक्ति मिल्ने स्थिति पैदा भएको थियो। यदि उनीविरुद्धको अभियोग प्रमाणित भएमा अब महराले कम्तिमा ११ बढिमा १४ वर्ष जेलसजाय भोग्नु पर्नेछ।
महराले आफू रोशनीको कोठामा नगएको भनि प्रधानमन्त्री केपी शर्मा ओली र द्धितीय अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नो प्रतिरक्षा गर्ने प्रयास गरेपनि ओली र दाहालले त्यसअघि नै पीडितको टोलमा राखिएको सिसि क्यामेराको सहायतामा कैद गरिएको फुटेज हेरेपछि सप्रमाण भएको भन्दै उनलाई हप्काएका थिए।
प्रकाशित मिति: बुधबार, असोज १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय