समाजवादी पार्टी नेपालका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जबरजस्ती करणीको आरोपमा मुछिएर पदमुक्त भएका निवर्तमान सभामुख कृष्णबहादुर महरा र पीडित महिलाको विषयमा यदि राज्यले निष्पक्ष छानविन गर्दैन भने जनस्तरबाटै छानविन गरी सत्यतथ्य बाहिर ल्याउन दबाब दिएका छन्।
शुक्रबार एकैचोटी दुईवटा ट्वीटमार्फत पूर्वमाओवादी नेता समेत रहेका भट्टराईले दुई तिहाइको सरकार घटना घटेको पाँच दिन वितिसक्दा पनि छानविनको लागि तत्परता नदेखाएर कुम्भकर्णको निद्रामा रहेको भनि आरोप लगाएका छन्।
पहिलो ट्वीटमा उनले भनेका छन्, ‘५ दिनसम्म यसबारे किन कुनै छानविन प्रक्रिया शुरु भएको छैन? २÷३ सरकार किन कुम्भकर्णे निद्रामा छ? छिटो उच्चस्तरीय स्वतन्त्र, निष्पक्ष छानविन होस् र कानूनी प्रक्रिया अघि बढोस्! महराले त्यसमा पूर्ण सहयोग गरुन्! नत्र जनस्तरबाट स्वतन्त्र आयोग बनाएर सत्यतथ्य स्थापित गरौँ, लोकतन्त्रको रक्षा गरौँ!’
https://twitter.com/brb1954/status/1179971889038426112
संसद सचिवालयको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीको डेरामा गत आइतबार महरा मदिरा सेवन गरी गएर आफूमाथि जबरजस्ती करणी र दुव्र्यवहार गरेको भन्दै पीडित महिलाले सोमबार सञ्चारमाध्यमलाई बताएकी थिइन्। त्यसको भोलिपल्ट मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकको निर्णय र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र द्धितीय अध्यक्ष पुष्पकमल दाहालको दबाबमा महराले पदाबाट राजीनामा दिएका थिए।
त्यसलगत्तै पीडित भनिएकी महिलाले राजनीतिक दबाबमा परी अर्को मिडियामार्फत वयान बदलेकी थिइन्। यसरी विवादमा मुछिएकी पीडित महिलाका श्रीमान चित्रजंग शाहीले पनि आफ्नी श्रीमतीसँग दुबैको राजीखुशीमा अलग अलग बस्ने सहमति भएको घरायसी पत्र बिहीबार सार्वजनिक गरेका थिए।
उक्त विषयमा पनि पूर्वप्रधानमन्त्री भट्टराईले आपत्ति जनाउँदै महिलामाथिको शोषण र अत्याचार कहिलेसम्म भनि सामाजिक सञ्जालमार्फत प्रश्न गरेका थिए।
शुक्रबार महराले दोस्रो ट्वीट गर्दै लोकतन्त्रमा सबैभन्दा गरिमामय पद प्रतिनिधि सभाको सभामुख र अपराधमा सबैभन्दा निकृष्ट बलत्कार भएको टिप्पणी गरेका छन्।
उनले यी दुई विषय जोडिएको गम्भीर मुद्दालाई सच्चा लोकतन्त्रमा त्यतिकै सार्वजनिक आरोप प्रत्यारोप गरेर वातावरण धमिल्याउन र धमिलो पानीमा माछा मार्न वा सत्ताशक्तिको बलमा दबाएर फासफुस पार्न नमिल्ने जिकिर गरेका छन्।
प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय