नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास लागि महात्मा गान्धीले अघि सारेको अवधारणा अनुसार सबै भन्दा पहिला ग्रामिण क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिएका छन्।
अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा १५०औं गान्धी जयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अहिंसाका पुजारी गान्धीले एउटा लौरोको भरमा भारतबाट अंग्रेज शासन हटाएको भन्दै त्यो शान्ति र अहिंसाकै माध्यमबाट सम्भव भएको बताए।
गान्धीले स्वदेशी उत्पादन र ग्रामिण किसानको उन्नतीका लागि अघि सारेको चर्खा आन्दोलनको स्मरण गर्दै उनले ग्रामिण क्षेत्रमा भएका घरेलु उत्पादनलाई बढावा दिनुपर्ने धारणा पनि राखे।
महात्मा गान्धी विकेन्द्रीकरणका प्रणेता भएको भन्दै उनले नेपालले पनि नयाँ संविधानको व्यवस्था अनुसार संघीयताको अवधारणालाई सफल पार्न विकेन्द्रीकरणमार्फत् गाउँको विकासमा ध्यान दिनुपर्ने बताए।
वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति र अहिंसात्मक आन्दोलनका लागि गान्धीले खेलेको भूमिका अतुलनीय रहेको भन्दै नेपालका गौतम बुद्ध र भारतका महात्मा गान्धीले विश्वलाई शान्ति र अहिंसाको माध्यमबाट पनि समग्र मानवजातीको कल्याण सम्भव छ भन्ने सन्देश दिएको बताए।
उनले शान्ति र अहिंसाको राजनीतिले मात्र जनताको मन जित्न सकिने बताउँदै मानव हृद्धयलाई सम्बोधन गरेर पनि समाजमा परिवर्तन ल्याउन सकिन्छ भन्ने उनीहरुको सन्देश भएको बताए।
साथै उनले पछिल्लो समय विश्वमा देखिएको आणविक अस्त्रको मारबाट विश्व मानव सभ्याताको रक्षा गर्न पनि गान्धीले अपनाएकै अहिंसाको बाटोबाट मात्र सम्भव भएको धारणा राखे।
त्यस्तै कांग्रेस उपसभापति तथा महेन्द्रनारायण निधि प्रतिष्ठानका मानार्थ अध्यक्ष विमलेन्द्र निधिले नेपालको राजनीतिक परिवर्तनमा कसैले स्वीकार गरेपनि नगरेपनि गान्धीकै अहिंसात्मक शान्तिकै पथबाट आएको दाबी गरे।
नेपालले नयाँ संविधान निर्माणसँगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा गइसकेपछि पनि त्यसमाथि खतराको संकेतहरु देखा परेको भन्दै त्यसको सामना गर्न र लोकतन्त्रको रक्षाका लागि आम नेपाली जनताले मनमा रहेको भय हटाएर तयारी अवस्थामा रहनु परेको बताए।
त्यस्तै भारतीय राष्ट्रिय कांग्रेसका नेता एवम् पूर्व भारतीय बिदेशमन्त्री सलमान खुर्सिदले भारतको बिकास र परिवर्तनमा गान्धीले गरेको कामको चर्चा गरे।
कार्यक्रममा पार्टी भाजपा नेता विजय सोनकर शास्त्री, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले गान्धीको योगदानको चर्चा गरेका थिए।
सिटौलाले देशले एउटा हिंसात्मक द्धन्द्धको अवस्थाबाट पार पाएर शान्ति प्रक्रिया टुंगोमा नपुग्दै फेरि अर्को हिंसाको संकेत देखा परेको भन्दे यसबाट मुक्तिका लागि गान्धी पथ नै उपयुक्त भएको बताए।
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय