हिमाल दैनिक
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चिनिया राष्ट्रपति सि जिनपिङको पथलाई अंगाल्ने विषयमा लिएको कदमप्रति सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेताले गम्भीर आपत्ति प्रकट गरेका छन्। महात्मा गान्धीको १५०औं जन्मजयन्ती तथा अन्र्तराष्ट्रिय अहिंसा दिवसको उपलक्ष्यमा महेन्द्रनारायण निधि प्रतिष्ठानले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका भाजपाका केन्द्रीय प्रवक्ता विजय सोनकर शास्त्रीले नेकपाको कदमप्रति असन्तुष्टि जनाएका हुन्। नेपालमा कहिल्यै नआएका महात्मा गान्धीले विक्रम सम्वत् १९९० को विनासकारी महाभुकम्पको समयमा पनि विश्वभर पत्र लेखेर आपतमा परेको नेपाललाई हरप्रकारले सहयोग गर्न आग्रह गरेको उनले स्मरण गरे। ‘अहिले म सुन्दैछु, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सी पथ अंगाले चल्दैछ रे। नेपालले ए, बि, सी, डी अथवा जेड जुनसुकै पथबाट चलेपनि मानवता र संमृद्धिका लागि जी पथ अर्थात गान्धी पथबाट मात्रै सम्भव छ,’ भाजपाका पूर्व सांसद समेत रहेका शास्त्रीले भने। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमणका समयमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका द्धितीय अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेकपा विदेश विभाग प्रमुख एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सी पथसँग सैद्धान्तिक र व्यवहारिक कार्यगत एकता गरेर अघि बढ्ने सहमति पत्रमा हस्ताक्षर गरेका थिए। उक्त विषयमा भारतीय राजनीतिक दलबाट शास्त्रीले दिएको यो पहिलो औपचारिक असहमति हो। कुनै समयमा रेलबाट यात्राका लागि रेलमा चढेका गान्धीलाई यात्रा गर्न नदिएर ओरालेको बेलायती साम्राज्यवादी सत्तालाई पछि उनै गान्धीले अंगालेको सत्य र अहिंसाकै पथले भारतबाट ब्रिटिस साम्राज्यलाई भगाएको उनले बताए। साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन २०१४ मा नेपाल भ्रमणमा आएको समय सबैलाई युद्ध छाडेर बुद्ध पथमा चल्न आग्रह गरेको स्मरण पनि गराए। उनले भने, ‘भारतले आज जुन विकास र संमृद्धिका लागि सबका साथ सबका विकासको नारा लिएर अघि बढेको छ त्यो केबल गान्धीकै सोच र आदर्शको विकसित रुपबाट मात्रै सम्भव भएको हो।’
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update