हिमाल दैनिक
संसद सचिवालयमा कार्यरत महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको राजीनामा कानून र नियमावली बमोजिम स्वीकृत भएपछि उनको नाम संसद सचिवालयको वेभसाइटबाट समेत हटाइएको छ। गत आइतबार संसद सचिवालयको स्वास्थ्य विभागमा काजमा कार्यरत स्वास्थ्यकर्मी महिला कर्मचारीको डेरामा गएर महराले जबरजस्ती करणी गरेर हातपात गरेको समाचार सोमबार प्रकाशित भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकको निर्देशन बमोजिम महराले सभामुख पदबाट मंगलबार राजीनामा दिएका दिए। महराले उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई बुझाएको राजीनामा पत्रको सूचना संसद सचिवालयले बुधबार प्रकाशित गरेपछि संसदको सभामुख पद वैधानिक रुपमा रिक्त हुन पुगेको छ। बुधबार संसद सचिवालयले सबै प्रक्रिया पूरा गरेर महराको राजीनामालाई पूर्णता दिएपछि सूचना प्रकाशित गरेको हो। संवैधानिक व्यवस्था अनुसार संसदको अधिवेशन चालु रहेको अवस्थामा सभामुखको राजीनामा पत्र संसदमा पढेर सुनाउनु पर्छ। तर, संसदको अधिवेशन असोज २ गते अन्त्य भएको थियो। संसदको अधिवेशन चालु नरहेको अवस्थामा संसद सचिवालयले राजीनामा सम्बन्धी सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ। संसद सचिवालयले महराको राजीनामा सम्बन्धमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २११ को उपनियम (२) बमोजिम बुधबार सूचना प्रकाशित गरेको हो। साथै सचिवालयले आफ्नो वेभसाइटबाट महराको नाम र फोटो समेत हटाएको छ। यसअघि महराले पदबाट राजीनामा दिएलगत्तै मंगलबार पार्टीको चौतर्फी दबाबमा बलत्कारको शिकार भएकी भनिएकी महिलाले अघिल्लो दिन सञ्चारमाध्यममा दिएको बयान फेर्दै महरालाई चोख्याउने कोशिश गरेकी थिइन्। पीडित महिलाको पछिल्लो बयानले महरामाथि लागेको जबरजस्ती करणीको आरोप पुष्टि भएमा हुन सक्ने १४ वर्ष जेलसजायबाट भने उन्मुक्ति मिल्ने भएको छ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update