हिमाल दैनिक
यौन दुव्र्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पार्टी निर्देशनको वेवास्ता गर्दै सभामुख पदबाट राजीनामा दिने क्रममा गोलमटोल भाषाको प्रयोग गरेका छन्। संसद सचिवालयमा रहेको स्वास्थ्य विभागमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोप लागेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले मंगलबार सभामुख र सांसद पदबाट राजीनामा दिएर छानविन प्रक्रियामा सघाउन महरालाई निर्देशन दिएको थियो। https://www.facebook.com/himaldainik/videos/446540209296327/ तर, त्यसलगत्तै सभामुख महराले नेकपाका द्धितीय अध्यक्ष पुष्पकमल दाहालका ज्वाई तथा आफ्ना निजी सहयोगीमार्फत उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई बुझाएको राजीनामा पत्रमा भने उनले छानविन प्रक्रिया नसकिदासम्मका लागि भनि विदामा बसेको कर्मचारीको जस्तो भाषा प्रयोग गरेका छन्। ‘हिँजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निश्पष्क्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस भनि नैतिकताका आधारमा आजैका मितिदेखि छानविन प्रक्रिया नसकिदासम्मका लागि राजीनामा दिएको छु,’ महराले आफ्नो राजीनामा पत्रमा भनेका छन्। जब कि पार्टीले उनलाई सभामुखमात्र होइन स्पष्ट शब्दमा प्रतिनिधि सभा सदस्यबाट समेत राजीनामा दिन सुझाएको थियो। यसअघि नेकपा सचिवालयको बैठकको निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारहरुप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए। साथै उनले भने, ‘केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले सभामुख कृष्णबहादुर महराले सभामुख तथा प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनु पर्दछ भन्ने निर्णय गरेको छ।’
प्रकाशित मिति: शनिबार, असोज ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update