राज्यको तर्फबाट सामाजिक सुरक्षा र जेष्ठ नागरिकको सम्मानका लागि आन्तरिक हवाई सेवामा ५० प्रतिशत भाडा छुट दिने सरकारको घोषणा कार्यान्वयनको क्रममा वायुसेवा संचालक व्यवसायीहरुले जेष्ठ नागरिकको अपमान गर्ने अवसरका रुपमा परिणत गरिदिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले हालै जेष्ठ नागरिकको सम्मान स्वरुप उनीहरुलाई आन्तरिक उडानमा ५० प्रतिशत भाडा छुट दिनेबारे निजी वायुसेवा विमान संचालकहरु सकारात्मक रहेको भन्दै प्रचारवाजी गरेका थिए। सोही क्रममा मन्त्रीले भदौ १३ गते वायुसेवा संचालक संघ नेपालको साधारण सभामा उपस्थित भई वायुसेवा कम्पनीहरुको हकहित, दिगो विकास र संरक्षणमा विभिन्न छुट र सहुलियत प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै त्यसको बदलामा जेष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिन आग्रह गरेका थिए। तर, वायुसेवा संचालक संघ नेपालका अध्यक्ष रामेश्वर थापाले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार, आन्तरिक उडानका वायुसेवा कम्पनीहरुले ७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकलाई मात्रै प्रति उडान सिमित संख्यामा ५० प्रतिशत भाडा छुट दिने जानकारी दिएका छन्। असोज ९ गते बसेको संघको बैठकको निर्णयको हवला दिँदै असोज ११ गतेको मिति राखेर जारी गरिएको विज्ञप्तिमा उक्त सेवा प्रदान गर्नेबारे ५ वटा सर्तहरु राखिएको छ। https://himaldainik.com/2019/09/17/73218/ जसको पहिलो सर्तमा जेष्ठ नागरिकको भावनामा भरपूर चोट पुर्याउने गरी प्रावधान राखिएको छ। जसमा भनिएको छ, ७० वर्षमाथिका विपन्न जेष्ठ नागरिकले हवाई भाडामा ५० प्रतिशत छुट पाउनका लागि सम्बन्धित वायुसेवा कम्पनीको कार्यालयमा स्वयंले आफू विपन्न भएको व्यहोरा स्वघोषणा गर्नु पर्ने उल्लेख छ। दोस्रो सर्तमा यसरी छुट पाउँने जेष्ठ नागरिकले सम्बन्धित रुटमा तोकिएको उच्चतम भाडा दरको आधा छुट पाउने उल्लेख छ। तेस्रो बुँदामा टंक रुटमा हवाई सेवा संचालन गर्ने वायुसेवा कम्पनीहरुले प्रतिदिन प्रति सेक्टरमा २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलब्ध गराउने उल्लेख छ। त्यसैगरी स्टल रुटमा हवाई सेवा संचालन गर्ने वायुसेवा कम्पनीहरुले प्रतिदिन प्रति सेक्टरमा १ जना विपन्न जेष्ठ नागरिकलाई मात्रै उक्त सुविधा उपलब्ध गराउने बताइएको छ। अर्थात उक्त प्रवाधान अनुसार, ७० वर्ष माथिको विपन्न जेष्ठ नागरिक जो सामान्यतयः हिँडडुल गर्न सक्दैन उसलाई विमान कम्पनीको कार्यालय धाउनु पर्नेछ। त्यो पनि प्रत्येक रुटमा एक वा दुई सिटका लागि व्यवस्था गरिएको छुट पाउन जेष्ठ नागरिकले युवा अवस्थामा व्यापक भिड लागेको फिल्म हलमा टिकट काट्न जाँदाको जस्तै जोस र जाँगरसहित तँछाड मछाड गरेर लिगलिग कोटको दौड गर्नु पर्नेछ। यसरी छुटका लागि गरिएको सुविधा असोज १२ गते दशैंको घटस्थापनाको दिनदेखि लागू हुने उल्लेख छ।प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय