हिमाल दैनिक
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको नेतृत्वमा रहेको विघटित फोरम लोकतान्त्रिक पार्टी एकीकरण भएको ठिक दुई वर्ष पश्चात उक्त पार्टीका नेताहरुको भविश्य शुक्रबार निर्धारण हुने भएको छ। संविधान जारी भएलगत्तै सम्पन्न संघ र प्रदेश निर्वाचनको अगाडि नेपाली कांग्रेससँग पार्टी एकीकरण गरेका गच्छदारको पार्टीका केन्द्रदेखि तल्लो तहसम्मका कार्यकर्ताहरु घर न थरको अवस्थामा राजनीतिक अन्यौलतापूर्ण समय गुजार्न बाध्य भइरहेको बेला कांग्रेसले शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमार्फत त्यसको टुंगो लगाउन लागेको हो। कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार, भोलि अपरान्ह १ बजेका लागि सानेपास्थित कांग्रेस मुख्यालयमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा फोरम लोकतान्त्रिकसँग भएको पूर्व सहमति अनुसार समायोजनको विषयले पूर्णविराम लिने बताइएको छ। उक्त बैठकमा गच्छदारको माग र चाहनालाई अधिकतम सम्बोधन गर्नेगरी उक्त पार्टीका कम्तीमा ७ देखि १० जना नेताहरुलाई कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यका रुपमा समायोजन गर्ने आन्तरिक तयारी भइरहेको छ। अहिलेसम्म गच्छदारको पुरानो पार्टीका कति र कुन, कुन नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने भन्नेबारे कुनै जानकारी बाहिर ल्याइएको छैन। स्रोतका अनुसार, संख्या र नाम पहिले नै सार्वजनिक गर्दा त्यसले नेतृत्वमाथि पर्न सक्ने दबाबलाई ध्यानमा राखेर गच्छदारले सभापति देउवा र शीर्ष नेतालाई नाम बाहिर ल्याउन दिएका छैनन्। सम्भवत् भोलि नै कांग्रेस उपसभापति गच्छदारले देउवासँग कुराकानी गरी संख्यासँगै नाम पनि सार्वजनिक गराउने छन्। सुरुमा १५ जना केन्द्रीय सदस्यदेखि २५ हजार क्रियाशील सदस्यको माग गर्दै आएका गच्छदारको प्रस्तावप्रति कांग्रेसले विस्तृत छलफल पश्चात बढिमा १० जना केन्द्रीय सदस्य दिन सक्ने सम्भावना रहेको छ। तर, सभापति देउवाले यसरी समायोजनको विषय टुंग्याउँदा गच्छदारको मागलाई अधिकतम् लचिलो भएर मिलाउन सक्ने स्रोतले बतायो। अहिलेसम्म गच्छदारको पुरानो पार्टी फोरम लोकतान्त्रिकबाट रामजनम चौधरी, गोपाल दहित, योगेन्द्र चौधरी कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन हुने सूचिको माथिल्लो लहरमा रहेका छन्। यसैगरी भोलिको बैठकमा आसन्न उपनिर्वाचनको विषयमा पनि छलफल हुने बताइएको छ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update