हिमाल दैनिक
अब नेकपाले गति लिने प्रम ओलीको बिश्वास
prime minister kp sharma oli himal-dainik
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको एकता प्रक्रियामा केही ढिलाइ भए पनि अब एकता टुङ्गिएकाले पार्टीले गति लिने बताएका छन् । बुधबार ललितपुरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र शपथ ग्रहण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले संविधान जारीसँगै स्थिर सरकार सुशासन र विकासको बाटोमा लागेको र नेकपाको एकता प्रक्रियामा केही ढिलाइ भए पनि अब टुङ्गिएकाले पार्टीले गति लिने बताएका हुन् । प्रधानमन्त्री ओलीले आफूहरुले एकता गरी सामान्यत: बहुमत आउन गाह्रो हुने वर्तमान निर्वाचन प्रणालीमा पनि केन्द्रमा ६४ प्रतिशत मतसहित सरकार बनाएको उल्लेख गरे । देशलाई आत्मनिर्भर बनाउन उत्पादनलाई निर्यात गर्ने कामको अगुवाइ गर्न आग्रह गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले कृषि क्षेत्रमा अबको क्रान्ति आधुनिकीकरण, व्यावसायिकरण र उन्नत कृषितर्फ हुने उल्लेख गरे। प्रधानमन्त्री कृषि आधुनिकरणलगायत कार्यक्रममार्फत कृषि क्षेत्रलाई अगाडि बढाउन खोजेको भन्दै उनले जमीनको एक टुक्रो पनि खाली नहुने गरी नयाँ प्रविधिका साथ जमीनलाई चक्लाबन्दी वा सामूहिक खेतीतर्फ लान खोजेको बताए। सहकारी वा किसान सहकार्यमार्फत एक क्षेत्रमा एक मात्रै धेरै उत्पादन गरी बजारीकरणसहित लाभ लिने र निर्यात गर्ने स्थितिमा पुग्नुपर्ने उनको भनाई छ । बैठकमा नेकपाका सचिवालय सदस्य एवं महासङ्घका इञ्चार्ज वामदेव गौतमले महासङ्घका केन्द्रीय कमिटीका सदस्यलाई शपथ गराएका थिए । नेकपाको गत जेठ २ गतेको सचिवालयको निर्देशनपछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट किसान संघलाई एकीकृत गरिएको थियो । महासङ्घको सह इञ्चार्जमा चित्रबहादुर श्रेष्ठ र सुनील मानन्धर तथा अध्यक्षमा हरि पराजुली छन् ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update