हिमाल दैनिक
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले सोमबार आफ्नो ट्वीटर र फेसबुकमार्फत भने, ‘चाडबाडका अवसरमा हवाई यात्रीलाई १० प्रतिशत भाडा छुट दिने वायुसेवा संचालक संघको निर्णय स्वागत् गर्दछु।’ सायद देश र जनताको हितमा काम गरिरहेको देखाउने हेतुले हुन सक्दछ मन्त्री भट्टराइले आफ्नो ट्वीटर र फेसबुकको सन्देशमा थप्दै भनेका छन्ः ‘अब जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने विषयमा पनि संघबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछु।’ https://twitter.com/yogesbhattarai/status/1173510856388173824 विद्यार्थी राजनीतिक जीवनकालदेखि सकेसम्म सधैैँ चर्चाको शिखरमा र नभए चर्चाको केन्द्रमा नै रहँदै आएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं मन्त्री भट्टराइले व्यक्त गरेको धारणाप्रति उनका समर्थकहरुले उनको फेसबुक र ट्वीटरमा खुलेरै प्रशंसा मात्र गरेका छैनन्। मन्त्रीको उक्त घोषणालाई कतिले त ऐतिहासिक र साहसिक कदम नै भन्न समेत पछि परेका छैनन्। उनको वालमा साथीका रुपमा रहेका सयौं प्रशंसकमध्ये केहीले भने हवाईजहाजको भन्दा सार्वजनिक बसको भाडा घटाउन सुझाव पनि दिएका छन्। तर, मन्त्री भट्टराइले गरेको घोषणाको अन्तर्यमा गहिरिएर हेर्यो भने वास्तविकता बेग्लै छ। वायुसेवा संचालक संघले चाडबाडको समयमा हवाई यात्रुलाई भाडामा १० प्रतिशत छुट दिने घोषणा अथवा आगामी दिनमा जेष्ठ नागरिकका लागि ५० प्रतिशत छुट दिने कुरा यथार्थमा ‘झिंगा र मुसा मार्नका लागि प्रयोग गरिने गुलियोभित्र लुकाएर राखिएको प्राणघातक विष अथवा पासो भन्दा फरक छैन।’ जुन झट्ट सुन्दा र हेर्दा असाध्यै राम्रो, कर्णप्रिय र जनपक्षिय अथवा स्वादिष्ट लाग्ने तर, त्यसमा परेपछि उम्किनै नमिल्ने। स्पष्टसँग भन्दा यो सर्वसाधारण यात्रुहरुको हित भन्दा पनि वायुसेवा संचालकको स्वास्थ्यलाई ध्यानमा राखि गरिएको चालबाजी भएको तथ्यले पुष्टि गर्दछ। किन भने, वायुसेवा संचालक संघले चाडबाडको बेलामा यात्रुलाई दिने भनि घोषणा गरिएको १० प्रतिशत छुट पहिले त यात्रुको चापका कारण टिकट पाउनु पर्यो अनिमात्रै छुटको कुरा आउँछ। दोस्रो, १० प्रतिशत छुट भनेको भाडा दरमा मात्रै हो, त्यो बाहेक लाग्ने करमा होइन, जुन आफैँमा अति नै बढि छ। विगत लामो समयदेखि ट्राभल एजेन्सी चलाउँदै आएका एक व्यवसायीले हिमाल दैनिकसँग कुरा गर्दै भने, ‘जस्तो प्रधानमन्त्रीजी उस्तै मन्त्रीजी पनि हुनु भयो। अर्थात, चीनको रेल, पानीजहाज तत्कालै आउँछ, घरघरमा ग्याँसको पाइप आउँछ भनेजस्तै हवाई टिकटमा यति प्रतिशत र उतिप्रतिशत छुट भनेपनि अन्ततः यसले यात्रुलाई होइन वायुसेवा संचालकै पक्षपोषण गरेको छ।’ उनका अनुसार, अहिले सबैभन्दा लामो दूरी र महंगो भाडा काठमाडौंबाट धनगढीका लागि रहेको छ। जस अनुसार, यात्रुहरुले १२ हजार ६५० रुपैयाँ अर्थात खूद भाडा दर ८ हजार २७५ र ४ हजार ३७५ कर तिर्नु पर्दछ। यदि मन्त्री भट्टराइले भने वमोजिम नै यात्रुहरुले १० प्रतिशत छुट पाएभने त्यो छुट १२ हजार ६५० रुपैयाँमा नभई खूद भाडा दर ८ हजार २७५ रुपैयाँको १० प्रतिशत अर्थात ८२७.५० रुपैयाँ मात्र छुट हो। अर्थात चाडबाडको समयमा १० प्रतिशत छुट पाउने यात्रुले ७ हजार ४४७.५ भाडा र ट्याक्स रक ४ हजार ३७५ गरी कुल ११ हजार ८२२.५ रुपैयाँ तिर्नु पर्दछ। यसको अतिरिक्त यदि मन्त्री भट्टराइले भनेजस्तै जेष्ठ नागरिकको हितमा ५० प्रतिशत भाडा छुट दिने योजना कार्यान्वयनमा आएमा उनीहरुले ८,२७५ रुपैयाँमा ४१३७.५० रुपैयाँ छुट पाउँनेछन्। अर्थात जेष्ठ नागरिकले यस्तो शुल्क बुझाउँदा ट्याक्ससहित ८,५१२.५० रुपैयाँ तिर्नु पर्ने छ। जब कि प्रतिस्पर्धाको बजारमा अहिले काठमाडौंबाट धनगढी जानका लागि सस्तो टिकट दरमा यात्रुहरुले हाल ४ हजारदेखि ४५ सय रुपैयाँमा यात्रा गरिरहेका छन्। त्यसैगरी काठमाडौंबाट विराटनगरको कुल भाडा ७ हजार ५५० रुपैयाँ रहेको छ। जसमा खुद भाडा दर ५ हजार ८० रुपैयाँ रहेको छ भने बाँकी २४ सय ७० रुपैयाँ ट्याक्स रहेको छ। चाडबाडको समयमा १० प्रतिशत छुट पाउने यात्रुले ५ सय ८ रुपैयाँ छुट पाउँदा ४,५७२ रुपैयाँ भाडा र २,४७० रुपैयाँ ट्याक्ससहित जम्मा ७ हजार ४२ रुपैयाँ तिर्नु पर्नेछ। यसमा पनि जेष्ठ नागरिकको हकमा ५० प्रतिशत भाडा छुट भएछ भने उनीहरुले ५ हजार १० रुपैयाँ तिर्नु पर्नेछ। जब कि अहिले उक्त रुटमा संचालित जहाजहरुले प्रतिस्पर्धाको बजारमा यात्रुहरुलाई कुनै घोषणावीना नै ३ हजार रुपैयाँसम्ममा यात्रा गराइरहेका छन्। यसैगरी काठमाडौंदेखि पोखराको हकमा कुल भाडादर ३,३५० रुपैयाँका अतिरिक्त १७ सय रुपैयाँ ट्याक्ससहित ५ हजार ५० रुपैयाँ रहेको छ। चाडबाडको समयमा यात्रुहरुका लागि दिने भनि घोषणा गरिएको १० प्रतिशत छुट पाउँदा पोखराका लागि यात्रुहरुले ३३५ रुपैयाँ हो। अर्थात यसरी १० प्रतिशत छुट पाउँदा यात्रुहरुले ४,७१५ रुपैयाँ भाडा तिर्नु पर्नेछ। यसका अतिरिक्त मन्त्री भट्टराइले घोषणा गरेको लक्ष्य बमोजिम जेष्ठ नागरिकले ५० प्रतिशत छुट पाएछन् भने उनीहरुको हकमा १ हजार ६७५ छुट गरी कुल ३,३७५ रुपैयाँ तिर्नु पर्नेछ। जब कि हालको भाडा दरमा विभिन्न विमान कम्पनीहरुले सस्तो भाडा दर अर्थात १५ सयदेखि २ हजार रुपैयाँसम्ममा पनि यात्रुहरुले पोखरा जान पाइरहेका छन्।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update