हिमाल दैनिक
बाँकेमा हुनै नहुने घटना भयो, दोषीलाई कारबाही हुन्छः गृहमन्त्री थापा
Congress memorandum
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जागरण अभियानका क्रममा बाँकेको कार्यक्रमस्थल भएको घटनालाई ‘हुन नहुने घटना’ भएको भन्दै उक्त घटनाका दोषीलाई कारबाही गर्ने आश्वासन गृहमन्त्री रामबहादुर थापाले दिएका छन्। कांग्रेसले भदौ २४ गतेदेखि सुरु गरेको देशव्यापी राष्ट्रिय जागरण अभियान अन्र्तगत बाँकेको सीतापुरमा भएको घटनाको विरोधमा ज्ञापनपत्र बुझाउन शनिबार बिहान गृहमन्त्रालय पुगेको कांग्रेस प्रतिनिधि मण्डलसँगको भेटमा गृृहमन्त्री थापाले उक्त घटनाको विषयमा दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। पूर्व निर्धारित कार्यक्रम अनुसार, कांग्रेसका काठमाडौं, ललिपुर र भक्तपुर जिल्ला सभापतिहरुको नेतृत्वमा गृहमन्त्रालय पुगेको प्रतिनिधि मण्डलसँग ज्ञापन पत्र लिँदै मन्त्री थापाले घटनाका दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताए। उनले भने, 'हुन नहुने घटना भएको छ, घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर छ।’ कांग्रेसले आयोजना गरेको कार्यक्रमस्थलमा प्रवेश गरी बाँके जिल्ला सभापति किरण कोइराला लगायतका नेता, कार्यकर्तामाथि सांघातिक आक्रमणमा संलग्न दोषीमाथि कारबाही नभए कांग्रेसले त्यसको विरुद्धमा चरणबद्ध विरोधमा उत्रने चेतावनी दिएको थियो। घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारवाही हुने बताउँदै उनले केही व्यक्तिलाई प्रहरी प्रशासनले नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारवाही गर्ने बचन उनले दिए। कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले कांग्रेसको जागरण अभियान सञ्चालनका क्रममा कार्यक्रम चलिरहेको बेलामा पार्टी जिल्ला सभापतिसहितलाई हातपात गर्नु निन्दनीय कार्य बताए। कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले कांग्रेसको कार्यक्रम बिथोल्ने मनसायका साथ उक्त घटना घटाइएको भन्दै घटनाको दोषीलाई तत्काल कारवाही गर्न पनि माग गरे। यति ठूलो घटना हुँदा पनि गृह प्रशासन संवेदनशील नभएको उनको आरोप थियो। भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले कांग्रेसको जागरण अभियानबाट आत्तिएर सत्तापक्षको प्रत्यक्ष निर्देशनमा उक्त घटना घटाइएको आरोप लगाए। कांग्रेसले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै दोषीलाई नियन्त्रणमा लिएर कारवाही नगरे सडक र सदनमा कडा प्रतिवाद गर्ने जनाएको छ। उक्त घटनामा परी कांग्रेस बाँके सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए। ज्ञापन पत्रः “माननीय गृहमन्त्रीज्यू, गृह मन्त्रालय, सिंहदरवार, काठमाडौँ । विषय ः ज्ञापन पत्र (१) जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गते देखि प्रारम्भ भएको हिमाल, पहाड, तराई–मधेश (हिपतम) राष्ट्रिय जागरणको दोस्रो चरणको अभियानका क्रममा मिति २०७६ भदौ २६ गते बाँके जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा क्षेत्र नं. २ को खजुरा गाउँपालिका वडा नं. २ सितापुर स्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भैरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय स्तरका नेता तथा खजुरा गा.पा. वडा नं. १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, पारस मल्ल, निमबहादुर वली, निर्मल खत्री, लोके भन्ने नाम नखुलेको समतेका १३/१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी ज्यानै मार्ने नियतले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमाथि सामूहिक आक्रमण गरेका छन् । “यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदैन” भन्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सुनियोजित एवं सांघातिक हमला गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । (२) नेपाली कांग्रेस बाँकेका सभापति श्रीमती किरण कोइरालाको हाँत भाचिएको र दर्जनौं नेता तथा कार्यकर्ताहरु घाइते हुनु भएको छ । नेपाली कांग्रेसका कार्यकर्ताहरुले बचाउ गरेका कारणले मात्र उहाँहरुको ज्यान जोगिएको र थप मानवीय क्षति हुन नसकेको थियो । (३) नेकपाका ५०÷६० को संख्यामा रहेका कार्यकर्ताहरुले नेपाली कांग्रेसको कार्यक्रम विथोल्ने उद्देश्यका साथ सडकमा समेत नारावाजी गरेका थिए । यत्रो ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई नेपाली कांग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ । राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमण प्रारम्भ गरिएको रुपमा नेपाली कांग्रेसले लिएको छ । (४) बढु्दो महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध नेपाली कांग्रेसले गरेको हिपतमको पहिलो र दोस्रो चरणका कार्यक्रमहरुमा उर्लदो जनलहर र जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकार र उनीहरुका कार्यकर्ताहरु अतालिएका छन् । सत्तारुढ दल र सरकार यसरी स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो उल्लंघन गर्न उद्दत रहेको छ । (५) नेपाली कांग्रेस यस घटनाको घोर निन्दा र भत्र्सना गर्दछ । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको कार्यक्रमलाई विथोल्ने वद्नियतका साथ सरकारको आडमा सुनियोजित रुपमा नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई आक्रमण गर्ने अपराधीहरुलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ । (६) भविष्यमा यस्ता घटनाहरु नदोहरिन दिन सरकारलाई सचेत गराउँदछौं । उल्लेखित दोषीहरु उपर कारवाही नभएको खण्डमा नेपाली कांग्रेसले कडा भन्दा कडा थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न वाध्य हुने समेत यसै ज्ञापन पत्र मार्फत जानकारी गराउँदछौँ । जय नेपाल !”
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update