जनचेतनाको अभिवृद्धिसँगै संगठन विस्तारको उद्देश्यले नेपाली कांग्रेसले सुरु गरेको राष्ट्रिय जागरण अभियानको कार्यक्रममाथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले गरेको आक्रमणले सदनदेखि सडकसम्म विपक्षी दल कांग्रेसको विरोधलाई चर्काउने स्थिति उत्पन्न भएको छ।
भदौ २४ गतेदेखि सुरु भएको दोस्रो चरणको देशव्यापी जागरण अभियानका क्रममा बिहीबार बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजित कार्यक्रममा जिल्ला सभापति किरण कोइराला र अन्य सहभागीमाथि सत्तापक्षका कार्यकर्ताले गरेको आक्रमणले सत्ता र प्रतिपक्षी दलबीचको दूरीलाई थप बढाउने अवस्था आएको हो।
उक्त घटनाको लगत्तै शुक्रबार कांग्रेस केन्द्रीय पदाधिकारीहरुको पार्टी मुख्यालय सानेपामा बसेको अनौपचारिक बैठकले बाँकेमा भएको सांघातिक आक्रमणका दोषीमाथि कारबाही नगरेसम्म देशभरी नै त्यसको विरोध गर्नुका साथै भदौ २९ गतेको प्रतिनिधि सभा बैठकमा पनि विरोध जनाउने तयारी गरेको छ।
साथै कांग्रेस पदाधिकारीहरुको बैठकले सरकारले राज्य व्यवस्था समितिबाट बलजफती रुपमा बहुमतको आडमा पारित गराउन लागेको नागरिकता सम्बन्धि विधेयकको विषयमा पनि सदन र सडकमा आवाज बुलन्द पार्ने तयारी गरिरहेको कांग्रेसका एक पदाधिकारीले हिमाल दैनिकलाई बताए।
शुक्रबार पार्टी मुख्यालयमा फोरम लोकतान्त्रिक र कांग्रेसबीच भएको पार्टी एकीकरणका क्रममा भएको सहमति बमोजिम टुंगो लगाउन बाँकी समायोजनको विषयमा नेताहरुबीच छलफलका लागि नेताहरु भेला भएका थिए।
तर, बाँकेमा भएको घटना र राज्य व्यवस्था तथा सुशासन समितिमा भएको गतिविधिको विषयको गम्भीरताका कारण उपसभापति विजयकुमार गच्छदारको पुरानो पार्टीको समायोजन विषय ओझेलमा पर्यो।
दुई वर्षअघि सम्पन्न राष्ट्रिय निर्वाचन पूर्व पार्टी एकीकरण गरेका गच्छदारको पुरानो पार्टीका कतिपय नेताहरुलाई केन्द्रदेखि तल्लो तहसम्म समायोजन गर्ने विषयमा उपसभापति विमलेन्द्र निधिको नेतचृत्वमा रहेको समितिले यहि भदौ मसान्तभित्र टुंगो लगाएमा त्यसलगत्तै सभापति शेरबहादुर देउवाले असोजको सुरुमा नै केन्द्रीय कार्यसमिति बैठक बोलाएर टुंग्याउने तयारी भइरहेको छ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय