हिमाल दैनिक
उत्कृष्ट नतिजा ल्याउने स्कुल र क्याम्पस पुरस्कृत
shiksya diwas
४०औंँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा सरकारले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय र क्याम्पसहरुलाई पुरस्कृत गरेको छ । दिवसका अवसरमा शिक्षा मन्त्रालयले आइतबार काठमाडौमा आयोजना गरेको बिशेष कार्यक्रममाबीच देशभरबाट छानिएका १८ वटा उत्कृष्ट विद्यालय र क्याम्पसलाई सम्मान गरेको हो । कक्षा १२ सम्मको माध्यमिक शिक्षा, सामुदायिक विद्यालयतर्फ कास्कीको अमरसिंह माध्यमिक विद्यालय पहिलो, मोरङको सुकुना माध्यामिक विद्यालय दोस्रो र पर्वतको भवानी विद्यापीठ माध्यामिक विद्यालय तेस्रो भएका छन् । यस्तै संस्थागत विद्यालयतर्फ एसओएस हर्मन माइनर माध्यामिक विद्यालय कास्की, नेपाल पुलिस स्कुल काभ्रेपलाञ्चोक र काठमाडौको सेन्ट जेभियर्स कलेजलाई पुरस्कृत गरिएको छ । यस्तै माध्यामिक कक्षा १० सम्मका सामुदायिक विद्यालयहरुमा मेधा माध्यामिक विद्यालय भक्तपुर, गुल्मीको रेसुङ्गा माध्यामिक विद्यालय र काठमाडौंको तरुण माध्यामिक विद्यालय पुरस्कृत भएका छन् । स्थागततर्फ काठमाडौंको रिलायन्स इन्टरनेशनल एकेडेमी, काभ्रेको नेपाल पुलिस स्कुल र काठमाडौंको भ्याली इंग्लिस स्कुल पुरस्कृत भएका हुन् । पुरस्कृत हुने विद्यालयमध्ये प्रथमलाई तीन लाख, द्वितीयलाई २ लाख र तृतीय हुनेलाई १ लाख रकम प्रदान गरिएको छ । उत्कृष्ट क्याम्पसतर्फ ललितपुरको पुल्चोक क्याम्पस, सिरहाको जेएस मुरारका बहुमुखी क्याम्पस र काठमाडौंको बर्नहार्ट कलेजलाई जनही २ लाख ५० हजार रकमसहित पुरस्कृत गरियो । कार्यक्रममा उत्कृष्ट शैक्षिक संस्थाहरुलाई पुरस्कृत गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बढ्दो बेरोजगारीको समस्या समाधान गर्न प्राविधिक शिक्षामा लगानी बढाउनु पर्ने धारणा राखे । उनले परिवर्तित अवस्थामा शिक्षा गुणस्तरबृद्धिका लागी शिक्षा प्रणालीलाई परिमार्जित गर्दै अघि बढाउनुपर्ने बताए । त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस आर्थिक बर्षभित्र साक्षर जिल्लाको संख्या कम्तीमा ७० पु¥याइने बताए । हाल ५१ जिल्ला साक्षर घोषणा भईसकेको भन्दै मन्त्री पोखरेलले यसै बर्ष साक्षर नेपाल घोषणा गर्ने बताए । कार्यक्रममा युनेस्को नेपाल र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा फोटोपत्रकार क्लबले आयोजना गरेको नेपाल (बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि) फोटो प्रतियोगितामा विजेता भएका फोटोपत्रकार वीरगञ्जका पंकज श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको थियो । यस बर्ष “हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण” भन्ने नाराका साथ दिवस मनाईएको हो । नेपालमा हाल सम्म ५१ वटा पुर्ण साक्षर जिल्ला घोषित भइसकेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update