हिमाल दैनिक
जनताप्रति समर्पित भएर काम गर्न मुख्यमन्त्रीको आग्रह
1566030179prithibisubba_gurung
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजामती राष्ट्रसेवकलाई जनताप्रति समर्पित भएर काम गर्न आग्रह गरेका छन्। निजामती कर्मचारी दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उनले जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवामा क्रियाशील बन्न आग्रह गरेका हुन्। सङ्घीयताको सफल कार्यान्वयन गर्न र सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य पूरा गर्नसमेत निजामती क्षेत्रको महत्वपूर्ण भूमिका हुने उनले बताए। राज्यको नीति, योजना र कानूनको सफल कार्यान्वयन गराउन निजामती कर्मचारीको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै शुभकामना सन्देशमा उनले ‘नेपाली जनताको आकाङ्क्षाबमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दृढ राजनीतिक इच्छाशक्ति भएको राजनीतिक नेतृत्व र पारदर्शी, परिणाममुखी, जवाफदेही, सूचना र प्रविधिको अधिकतम उपयोग गर्न सक्षम प्रशासन अपरिहार्य छ,’ भने। ‘सक्षम निजामती प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती दिवस आइतबार विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update