हिमाल दैनिक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वनिर्धारित कार्यक्रम अनुसार दोस्रो चरणको हिमाल, पहाड, तराई मधेस राष्ट्रिय जागरण अभियान भदौ २४ गतेदेखि देशभर एकैसाथ सुरु गर्ने घोषणा गरेको छ। पार्टी कार्यालय सानेपामा बिहिबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले दोस्रो चरणको जागरण अभियानको कार्यतालिका सार्वजनिक गरेको हो। भदौ २४ गते प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रीत अभियानका लागि केन्द्रबाट ३३० जना कन्दीय प्रतिनिध खटाएर १५ दिनसम्म अर्थात असोज ७ गतेसम्म सञ्चालन गर्ने कांग्रेसको तयारी रहेको छ। जसमा कार्यक्रमको स्वरुप समेत किटान गरी एक मिनेटको आसन, केजीको तौलमा आउने माला र व्याज नलगाउनेदेखि एक मिनेटको मौन धारणको कार्यक्रमसमेत उल्लेख छ। पहिलो चरणमा वैशाख २५ देखि जेठ २५ गतेसम्म ७७ जिल्लामा एक महिने अभियान सम्पन्न गरेको कांग्रेसले दोस्रो चरणको जागरण अभियानको १५ उद्देश्य तय गरेको छ। जसमा पार्टीका संस्थापक नेता बी.पी. कोइरालाको १०६औं जन्म जयन्तीको असर पारेर भदौ २४ गते प्रति प्रदेश १०६ वटैका दरले एकै दिन ३४ हजार ९ सय ८० बिरुवा रोपिने जानकारी पनि कांग्रेसले दिएको छ। कांग्रेसले जनतालाई सरकारका असफलताका बारेमा जानकारी दिन र सामाजिक सम्वादमार्फत जनमत बुझ्न पनि जागरण अभियान सञ्चालन गरेको बताएको छ। जागरण अभियानकै दौरानमा अभियानको अन्तिम दिन असोज ७ गते मूलत ५ मुद्दामा केन्द्रीत रहँदै जिल्लास्तरीय विरोध प्रदर्शन गर्ने कार्यक्रमको तय गरेको छ। प्रदर्शनलाई बढ्दो महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या अलोकतान्त्रिक विधेयकविरुद्ध केन्द्रित रहने जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए। संविधान निर्माणको बखतमा सरकारको नेतृत्व लिएर सफलता पूर्वक संविधान जारी गराउन भूमिका निर्वाह गरेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले असोज ३ गते संविधान दिवसलाई केन्द्रीत गरी कार्यक्रमको तयारी पनि गरेको छ। यसैगरी जागरण अभियानमार्फत पार्टीमा नयाँ सदस्यता व्यापक वितरण गरी सदस्य संख्या बढाउने र आपत विपतका बेला पार्टीको स्वयं सेवक समूह गठन गर्ने उद्देश्य पनि कांग्रेसले राखेको छ। साथै अभियानबाट सहिद परिवारको घरघरसम्म पार्टीलाई र्पुयाएर उनीहरुको पीरमर्का सुन्ने र सुझाव लिने प्रवक्ता शर्माले बताए। पत्रकार सम्मेलनमा काग्रेसका उपसभापति विमलेनद्र निधिले दोस्रो चरणको जागरण अभियानका क्रममा काग्रेस एकढिक्का भएको सन्देश पनि प्रवाह गर्ने जानकारी दिए। पत्रकार सम्मेलनमा कांग्रेसका नेताहरुले पार्टीको पहिलो चरणको जागरण अभियानका दौरान ३१ हजार ६ सय ४४ जनाले पार्टीको सदस्यता लिएको जानकारी दिएका थिए। उनीहरुले दोस्रो चरणमा अझै बढी व्यक्तिले कांग्रेसको सदस्यता लिने विश्वास व्यक्त गरे। दुई तिहाइको कम्युनिस्ट सरकारले शासन सम्हालेको दुई वर्ष समेत पुग्नु अघि नागरिक पंक्तिमा सरकारप्रति आशा, विश्वास र भरोसा हट्दै गएर एक ढंगको वितृष्णा समाजमा बढ्दै गएकाले यस्तो परिस्थितिमा जागरण अभियानको क्रममा कांग्रेस देशव्यापी रूपमा समाजिक संवादमा सहभागी हुने प्रवक्ता शर्माले बताए।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update