सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार र त्यसको नेतृत्वले इतिहासमै बलियो सरकार देश र जनताको पक्षमा उल्लेखनीय काम गरिरहेको दाबीप्रति सत्तापक्षकै नेताले गम्भीर प्रश्न चिन्ह खडा गरिदिएका छन्।
सत्तासाझेदार दर समाजवादी पार्टी नेपालकी नेतृ रेणु यादवले बुधबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख विपक्षी दलको भन्दा चर्को आलोचना गर्दै झण्डै दुई वर्षको अवधिमा सरकारले जनतालाई कुनै ठोस कार्यक्रम र राहत दिन नसकेको दाबी गरिन्।
संसदभित्र सांसदहरुले दिनहुँ विभिन्न विषयमा आवाज उठाउँदा त्यसबारे कुनै पनि जिम्मेवार निकायबाट सुनुवाई नभएको भन्दै रोष प्रकट गरिन्।
देशमा महंगी र भ्रष्टाचारले जनता आक्रान्त भएपनि सरकारले भ्रष्टाचारमा महारथ प्राप्त गरेका आरोप लगाइन। उनले सरकारको यो गतिले कुन दिशातर्फ मुलुकलाई धकेल्दै छ भनि प्रश्न गरिन।
विद्यार्थीहरुले महंगीको मारले तरकारी सम्म खरिद गरेर खान र बसेर पढ्न नसक्ने अवस्था बनेपनि त्यो महंगी के कारणले बढ्यो अथवा कसरी नियन्त्रण गर्ने भन्ने बारे सरकारको कुनै चासो नरहेको आरोप लगाइन्।
उनले विदेश नीतिको कारण महंगी बढेको हो वा बाढीको कारण कसैले जवाफ नदिएको बताइन्।
भ्रष्टाचारको सवालमा वाइड बडी होस् वा सुन काण्डबारे जनताले के भएको हो र के हुँदैछ भन्नेबारे कुनै जानकारी नपाएको भन्दै उनले सुनकाण्डका ३१ आरोपीमध्ये २९ जना छुटिसकेको र साधारण कर्मचारीलाई मात्रै थुनेर दुःख दिएको आरोप लगाइन्।
इतिहासको पानामा जनताले बहुमतको सरकार बनाएको भन्दै इतिहास दुई पटक नलेखिने बताउँदै भनिन्, यो बहुमतको सरकारले आफ्नो इतिहास बनाउँदै छ त्यो हो भ्रष्टाचार गरेर नयाँ इतिहास बनाइको छ।
आफ्नै पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्रीसहित सरकारमा सामेल भएपनि अहिलेसम्म कुनै पनि मन्त्रीले आफूले देश र जनताको लागि यो काम गर्दैछु भनेर ठोस कार्ययोजना अघि सार्न नसकेको आरोप लगाइन्।
देशको शान्ति सुरक्षा कायम गराउने जिम्मेवारीमा रहेको पुलिस, प्रहरी सत्तारुढ दलको भातृ संगठनको काम गरिरहेको आरोप पनि उनले लगाउँदै भनिन्, ‘जसलाई भित्र राख्नु पर्दथ्यो उ बाहिर र जो बाहिर हुनु पथ्र्यो त्यो भित्र रहने स्थिति छ।’
देशमा आत्महत्या र गौहत्या भइरहेको भएपनि कुनै नियन्त्रणको उपाय नअपनाइएको बताइन्।
उनले सरकारको अर्थ नीति निकम्मा बनेको भन्दै विदेश नीतिबारे चर्चा गर्नसम्म योग्य नरहेको बताइन्।
कुनै पनि देशको विदेश नीति ठोस हुने बताउँदै नेपालको विदेश नीति अहिले खोक्रो र हाँस्यास्पद भइरहको भन्दै भनिन्, ‘कहिले भेनेजुयलाको नाममा अभिव्यक्ति दिने कहिले भारतको कश्मिर घटनाको नाममा चुप लागेर बस्दै आफ्नो विदेश नीति खोक्रो भएको सावित गरेको छ।’
उनले भारत होस् वा चीन जो नेपालको सीमासँग जोडिएका छन् उनीहरुको विकास र प्रगति हाँसिल गरिरहेको बेला त्यसको फाइदा उठाउने भन्दा जता गयो उतै ठिक्क बन्ने दोधारे नीति लिएएको आरोप लगाइन्।
हाम्रो विदेश नीति चुपचाप नजिकबाट नियालीरहेको छु भन्ने सरकारको भनाइप्रति उनले भनिन्, ‘नजिकबाट विदेश नीति कहिँ पनि देखिँदैन। उसको आफ्नो ठोस आवाज हुनु पर्दछ।’
कृषि प्रधान देशमा किसानहरुले मल, बीउको सुविधा नपाएको भन्दै सरकार चौतर्र्फी रुपमा घेराबन्दी र असफलताको दिशामा गएको बताइन्।
सरकारले दुई वर्ष हुँदा पनि कुनै ठोस नीति अघि सार्न नसकेको भन्दै प्रश्न गरिन्, ‘यो अवधिमा सरकारले जनतलाई के दिन सक्यो? केहि पनि दिन सकेन।’
अर्थमन्त्रीले भाषणमा जे भनेपनि विकास बजेट ५० प्रतिशत पनि खर्च हुन नसकेको भन्दै यसले देशको अर्थतन्त्र बलियो नहुने बताइन्।
सरकारको नेतृत्वले संविधान संशोधन गर्ने कुरा गरेपनि अहिलेसम्म कुनै विषयमा सरकारको नेतृत्वले संविधान संशोधनदेखि नागरिकता विधेयकको विषयमा कुनै गम्भीरता नदेखाएको आरोप लगाइन्।
https://www.facebook.com/himaldainik/videos/531763617560835/?t=0
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय