हिमाल दैनिक
समाजवादी पार्टी नेपाका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नेपालका कम्युनिष्टहरूले बहुजातीय देशमा सङ्घीयता सम्बन्धी कार्ल मार्क्सको धारणालाई खतराको घण्टी ठानेर लुकाएको आरोप लगाएका छन्। मङ्गलवार काठमाडौंको अनामनगरमा नेपाली समाजको प्रगतिशील रूपान्तरणको सन्दर्भमा भएको एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। श्रेष्ठले नेपालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र केही जातीय पार्टीहरूले कार्ल मार्क्सले वर्गीय मुक्तिको कुरा मात्र उठाएको भ्रम छरेको बताउँदै भने, ‘बेलायतमा अङ्ग्रेजहरूद्वारा आइरिसहरूमाथि दमन हुँदा बेलायत जस्तो बहुजातीय देशमा सङ्घीय शासनको आवश्यकताबारे सन् १८६७ मा त्यहाँका श्रमजीवीहरूलाई लेखेको पत्र र लेखहरूमा उल्लेख छ। मार्क्सले जातीय हिंसा भइरहे आइरिसहरूको आत्मनिर्णयको अधिकारको सम्मान गरी तिनीहरूलाई स्वतन्त्रता दिनुपर्ने र त्यसपछि सङ्घीयतामा बाँडिनुपर्ने कुरा समेत उठाएका थिए।’ सङ्घीयतको विषयमा विशेष दख्खल राख्ने नेता श्रेष्ठले आफूहरू एमालेको नेतृत्वमा रहेको बेला बहुजातीय देशमा मार्क्सको यहि धारणा विश्वका कम्युनिष्टहरूले अबलम्बन गरेको सन्दर्भ उठाएको बताए। उनले नेपाल पनि बहुुजातीय भएकाले पहिचानसहितको सङ्घीयताको विकल्प नभएको कुरा उठाएपछि नेताहरू नाजवाफ भएको र पहिचानयुक्त १५ प्रदेश सहितको अवधारणा पारित गरी पहिलो संविधानसभामा समेत पठाएकोमा एमाले नेताहरूले त्यसलाई पारित नगरी जालसाजी गरेको र जनतालाई धोका दिएको आरोप लगाए। उनले नेकपा नक्कली कम्युनिष्ट भएको आरोप समेत लगाए। नेकपाका नेताहरू साम्प्रदायिक र मनुेवादी समेत रहेको बताउँदै मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित लगायतका कतिपय नेताहरू कोटीहोम गरेर साम्यवाद खोज्न हिँडेको भन्दै व्यंग्य गरे। उनले मनुवादी हिन्दू वर्ण व्यवस्थामा ब्रम्हाको मुख, पाखुरा, पेट र पैतालाबाट समेत मानव जन्म हुने सिद्धान्त प्रतिपादन गरेको बताउँदै पूर्वीय दर्शनको नाममा यस्ता अवैज्ञानिक दर्शन मान्न नहुने बताए र भने, ‘मुखमा वा पाइतालामा पाठेघर हुँदैन।’ विश्वमा कम्युनिष्ट मोडेलको राजकीय समाजवाद तथा नेपाली कांग्रेसले पश्चिम युरोपको एकल जातीय मुलुकको उदार समाजवाद नक्कल गर्न खोजेकोले दुबै असफल भएको बताउँदै उनले भने, ‘नेपालमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरू पटकपटक सत्तारुढ हुँदा पनि यहाँका उत्पीडित राष्ट्रियताहरू मुक्त भएनन्। नेपाल जस्तो बहुजातीय तथा बहुसाँस्कृतिक मुलुकमा सङ्घीयता बिनाको समाजवादले सबैलाई समेट्दैन र देशको समस्या हल हुँदैन। सङ्घीयता बिनाको समाजवाद प्राण विनाको शरीर जस्तै हो।’ नेता श्रेष्ठले नेपालमा एकाइसौं शताब्दी सुहाउँदो नेपाली विशेषतायुक्त समाजवादको रूपमा समाजवादी पार्टीले समुन्नत सङ्घीय समाजवादलाई नेपाली समाज परिवर्तनको मौलिक बाटोको रूपमा अगाडी सारेको बताए। सम्मुनत सङ्घीय समाजवाद दर्शनको हिसावले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी, राजनीतिक हिसावले समावेशी र लोकतान्त्रिक तथा सामाजिक न्यायको हिसावले लोक कल्याणकारी रहेको बताउँदै यसले सङ्घीयता, सुशासन र समृद्धिसहितको समाजवादको परिकल्पना गरेको बताए। उनले नेपाल जस्तो बहुराष्ट्रिय मुलुकका लागि एकाइसौँ शताब्दीको समाजवाद समुन्नत सङ्घीय समाजवाद नै भएको जिकिर गरे।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update