मदन पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्दै आएका सहित्यिक पुरस्कारमध्ये यस वर्षको जगदम्बा श्री पुरस्कार कवि बैरागी काइँला (तीवविक्रम नेम्वाङ)लाई दिइने भएको छ।
मनद पुरस्कार गुठीको आइतबार बसेको साधारण सभा बैठकले तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्तामध्येका कवि बैरागी काइँलालाई लिम्बु भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन, अनुसन्धान तथा अभिलेखिकरण गरी नेपाली वाङ्गमयको संमृद्धिमा उल्लेखनीय योगदान पुर्याएकोमा २०७५ सालको जगदम्बा श्री पुरस्कारले सम्मान गर्ने निर्णय गरिएको हो।
गुठीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, बैठकले ०७५ सालमा प्रकाशित पुस्तकहरु मध्येबाट योगेश राजद्धारा लिखित ‘रणहार’ पुस्तकलाई मदन पुस्कार दिने निर्णय गरेको छ।
यस वर्ष गुठीमा प्राप्त २५७ पुस्तकहरु मध्येबाट सात पुस्तकः एकादेशमा, ओक्कल दोक्कल पिपल पात, ज्ञ, मरीचिका, रणहार तथा विचारको लास मदन पुरस्कारका निम्ति छनौटमा परेको विज्ञप्तिमा उल्लेख छ।
यसवर्षदेखि गुठीले मदन पुरस्कार तथा जगदम्बा श्री पुरस्कारको राशी चार÷चार लाख रुपैयाँको दरले तय गरेको बताउँदै उक्त पुरस्कार असोज १२ गते विशेष कार्यक्रममा वितरण गरिने जनाइएको छ।
विक्रम सम्बत् २०१२ सालमा स्थापित मदन पुरस्कार पहिलो पल्ट १३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’ सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभक स्थिरविद्युत उत्पादक’ पुस्तकले पाएका थिए।
०४५ सालमा जगदम्बा रानीको निधन पश्चात उनको सम्झनामा जगदम्बा श्री पुरस्कार स्थापना गरिएको थियो।
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय