विवादस्पद धर्म प्रचारक संस्थाको सहआयोजक बन्दै करोडौं रुपैयाँ राज्यकोषबाट खर्चिएको विवाद सेलाउन नपाउँदै सरकाले भारतीय फिल्म फेयर अवार्डका लागि ४४ करोड रुपैयाँ दिने निर्णय गरेपछि थप विवादमा पर्ने सम्भावना बढेको छ।
इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्डको २० औं संस्करणको आयोजनाका लागि सरकारले राज्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति बनाउँदै त्यसका लागि आवश्यक खर्च दिने निर्णय गरेको हो।
भदौको दोस्रो साता अर्थात अगस्ट अन्तिम साता काठमाडौंमा हुने भनिएको आइफा अवार्डको आयोजनाका लागि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्री वा राज्यमन्त्री संयोजक रहने गरी एक उच्चस्तरीय समिति बनाएको समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ।
अवार्डको सहआयोजक काठमाडौं महानगरपालिका हुने गरी नेपाल पर्यटन बोर्डको नेतृत्व रहने समाचारमा उल्लेख छ।
अवार्ड आयोजनासहित कार्यक्रमका लागि सरकारले आइफालाई ४० लाख डलर अर्थात ४४ करोड २५ लाख रुपैयाँसहित हवाई टिकक खर्च, खानपान तथा आवासको छुट्टै व्यवस्थापन गर्ने निर्णय गरेको छ।
उक्त कार्यक्रममा भारतीय चलचित्रकर्मीहरुसहित करिब एक सय जनाको उपस्थिती हुने समाचारमा उल्लेख छ।
मन्त्रिपरिषद्ले गठन गरेको उच्चस्तरीय समितिमा महानगर मेयर, गृह, परराष्ट्र, अर्थ, स्थानीय विकास, सूचना मन्त्रालयका सचिव, नेपाल पर्यटन बोर्ड, चलचित्र विकास बोर्ड, नेपाल उडड्यन प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, होटल एसोसिएसन अफ नेपालका प्रमुखहरू सदस्यका रूपमा रहने बताइएको छ।
विदेशी फिल्म अवार्डका लागि सरकारले ठूलो रकम दिने भएपछि स्वदेशी फिल्मकर्मीहरूले असन्तुष्टि जनाएका छन्। चलचित्र संघ अध्यक्ष प्रदीपकुमार उदयले स्वदेशी फिल्मका लागि लगानी गर्न हच्किने सरकारले विदेशको निजी अवार्डका लागि करोडौं रुपैयाँ दिनु लाजमर्दो भएको टिप्पणी गरेको समाचारमा उल्लेख छ।
यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना गर्नु नराम्रो नभएको बताउँदै उदयले कुनै निजी अवार्डको कार्यक्रममा सरकार नै सहआयोजक बन्नुको औचित्य सरकारले पुष्टि गर्नु पर्र्ने बताएका छन्।
विजक्राफ्ट इन्टरनेसनलले आयोजना गर्दै आएको आइफा अवार्डको १९औं संस्करण गतवर्ष थाइल्यान्डको बैंककमा सम्पन्न भएको थियो। अभिनेता अभिताभ बच्चन आईफा अवार्डका ब्रान्ड एम्बेस्डर हुन्।
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय