हिमाल दैनिक
राष्ट्रिय किक्रेट टोलीको नयाँ प्रशिक्षकमा भारतीय प्रशिक्षक पटवाल नियुक्त
Nepal Cricket Council
भारतीय क्रिकेट प्रशिक्षक उमेश पटवाल औपचारिक रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। राष्ट्रिय खेलकुद परिषद (राखेप)ले शनिबार एक कार्यक्रमकाबीच पटवाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। राखेपका सदस्यसचिब केशबकुमार बिष्ट र प्रशिक्षक पटवालबीच एक बर्षे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। नेपालले घरेलु भूमिमा आयोजना हुने साग गेम्सलाई केन्द्रित गरेर पटवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो। यसअघि नेपाली टिमको प्रशिक्षकमा जगत टमटा रहेका थिए। सम्झौता अनुसार नयाँ प्रशिक्षक पटवालले मासिक ७ हजार अमेरिकी डलर पाउनेछन्। पटवालको तलब भत्ता लगायतको सम्पूर्ण खर्च आईसीसीले व्यहोर्ने बताइएको छ। कार्यक्रममा पटवालले नेपाली टोलीको अन्तर्राष्ट्रिय खेल हेर्दा निकै उत्कृष्ट लागेको प्रतिक्रिया दिए। उनले जगत टमाटासँग लामो अनुभव रहेको र युवा खेलाडी उत्पादनमा उनको त्यो अनुभव काम लाग्ने बताउँदै टमाटासँग मिलेर काम गर्ने इच्छा व्यक्त गरे। त्यस्तै राखेपका सदस्यसचिव विष्टले पटवाललाई स्वागत गर्दै आइसीसीको सहयोगमा पटवाल नेपाल आएपछि सागमा पनि पदक जित्ने आशा गरेको बताए। यस्तै नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले टमाटाको सहयोगका लागि धन्यवाद दिए। यसका साथै क्यान निलम्बन भएको बेला सबैले सहयोग गर्ने अपेक्षा पारसले व्यक्त गरे। प्रशिक्षक पटवालले सुरुवातमा साग खेल्ने नेपालको यू–२३ टिम हेर्नेछन्। पटवालले यसअघि नेपाली टिमको ब्याटिङ प्रशिक्षक भएर काम गरिसकेका छन्। यस्तै पटवालले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको प्रतियोगिता निर्देशक भएर काम गरेका थिए। नेपाल आउनुअघि पटवालले अफगानिस्तानको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरेका थिए।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update