गिनीका १६ वर्षीय स्ट्राइकर अनसु फातीले व्यवसायिक फुटबलको डेब्यू खेलमै गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको ओसासुनासँग संघर्षपूर्ण बराबरी खेल्दै अंक बाँडेको छ ।
घरेलु मैदानमा ओसासुनाले सुरुआतमै अग्रता बनाएको थियो । ब्रेन्डन थोमसको पासमा रोवर्टो टोरेसले हेडमार्फत गोल गरी घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा बार्सिलानाले गोल फर्काउन सकेन । प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले दोस्रो हाफको सुरुमै नेल्सन सेमेडोको स्थानमा फातीलाई व्यवसायिक फुटबलमा डेब्यू गराए ।
बार्सिलोनाको बी टिमबाट खेलिरहेका फातीले सिनियर टिममा डेब्यू गरेको ६ मिनेटपछि गोल गर्न सफल भए । उनले कार्लेस पेरेजको क्रसलाई सदुपयोग गरेका हुन् ।
१६ वर्ष ३०४ दिनका फाती ला लिगा इतिहासमै कम उमेरमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि फ्याब्रिस ओलिंगाले १६ वर्ष ९८ दिन र इकर मुनिइनले १६ वर्ष २८९ दिनको उमेरमा गोल गरेका थिए ।
६४ औं मिनेटमा अर्का सब्स्टिच्युड स्ट्राइकर आर्थरले गोल गरेपछि बार्सिलोनाले अग्रता लियो । उनले पनि पेरेजकै क्रसमा गोल गरेका हुन् । आर्थरले ५३ औं मिनेटमा राफिन्हालाई प्रतिस्थापन गरेका थिए ।
८१ औं मिनेटमा ओसासुनाले पेनाल्टीमार्फत गोल गरी घरेलु मैदानमा बार्सिलोनालाई बराबरीमा रोक्न सफल भयो ।
ओइरको क्रस बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेको पाखुरामा लागेको थियो । नयाँ नियमअनुसार ओसासुनाले पेनाल्टी पायो र रोवर्टो टोरेसले पेनाल्टीमा कुनै गल्ती गरेनन् ।
पहिलो खेलमा एथ्लेटिको विल्वाओसँग पराजित भएको बार्सिलोनाले दोस्रो खेलमा रियल बेटिसमाथि ५–२ को सानदार जित रचेको थियो । चोटग्रस्त लियोनल मेस्सी, लुइस स्वारेज र ओस्मान डेम्बेलेको अनुपस्थितिमा युवा खेलाडीको भर परेको बार्सिलोनाले स्तरीय खेल देखाए पनि जित हासिल गर्न सकेन ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय