फ्रेन्च लिग वन मा साविक विजेता पेरीस सेन्ट जर्मेनले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले टोलोउसलाई चार शुन्यले हरायो ।
घरेलु मैदानमा भएको खेलमा पीएसजीको जितमा चोउपा मोटिङले दुई गोल गरे । खेलको पहिलो हाफ रोमाञ्चक बनेपनि दोस्रो हाफमा पीएसजीले एकपछि अर्को गोल गर्यो । ५० औं मिनेटमा मोटिङले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ५५ औं मिनेटमा पीएसजीले उपहार गोल मार्फत अन्तर दुई शुन्यमा पुर्यायो ।
पाहुना टिमका गोन्साल्भेसले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गर्न पुगे । ७१ औं मिनेटमा पीएसजीले अर्को गोलको अवसर पाएको थियो । तर एञ्जल डी मारीयाले पाएको पेनाल्टीको अवसरलाई खेर फाले । ७५ औं मिनेटमा फेरी मोटीङले हुवान बेरनटको पासमा गोल गर्दै टिमको अग्रता तीन शुन्यमा पुर्याए । त्यसपछि ८३ औं मिनेटमा र्माक्विनोसले गोल गर्दै पीएसजीलाई चार शुन्यले अगाडी राखे । उनले मारीयाको पासको सदुपयो गरेका थिए ।
पीएसजीले स्टार खेलाडी नेयमारलाई यो खेलमा पनि बेन्चमा राखेको थियो । पछिल्लो पटक क्लव छोड्ने हल्ला चलिरहेका बेला उनी लगातार दुई खेलमा टिममा स्थान बनाउन सकेनन् । यो जितपछि पीएसजीले दुई खेलमा ६ अंक बनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय