जोफ्रा आर्चरले घातक बलिङ गरेपछि एशेज सिरिज अन्तर्गत तेस्रो टेस्टको पहिलो दिन अस्ट्रेलिया १७९ रनमा समेटिएको छ।
आर्चरले १७.१ ओभरमा ३ मेडन राखेर ४५ रन दिदैं ६ विकेट लिएपछि अस्ट्रेलिया सामान्य स्कोरमा समेटिएको हो।
अस्ट्रेलिया अलआउट भएसँगै पहिलो दिनको खेल सकिएको छ।
इङ्ल्याण्डले टस जितेर बलिड गर्ने निर्णयपछि ब्याटिङमा आएको अस्ट्रेलियाले खराब सुरूवात गर्यो।
टोलीले २५ रन जोड्दा ओपनरद्वय मार्कस हैरिस (८) र उस्मान ख्वाजा(८)लाई गुमाएको थियो।
त्यसपछि डेविड वार्नर(६१) र मार्नस लाबुशानेले (७४) रन बनाउँदै तेस्रो विकेटका लागि १११ रनको शतकीय साझेदारी गर्दै अस्ट्रेलियालाई आशा देखाएका थिए।
आफ्नो करियरको ३० औं अर्धशतक बनाएका वार्नरले ९४ बलमा सात चौका प्रहार गरेका थिए।
यस्तै लाबुशानेले १२९ बलमा १० चौका प्रहार गर्दै आफ्नो करियरको तेश्रो अर्धशतक पूरा गरे।
टोलीको स्कोर १३६ भएपछि वार्नर आउट भए। वार्नरसँगै अस्ट्रेलियाको विकेट लगालग गुम्यो। टोलीका ट्रेविस हेड र म्याथ्यु वेड खाता नखोली नै पेभेलियन फर्किए।
वेड आउट भएपछि अस्ट्रेलियाको विकेट नियमित अन्तरालमा एकपछि अर्को गर्दै पतन हुँदै गयो र टोली १७९ मा अलआउट भयो।
इङ्ल्याण्डका लागि आर्चरका बाहेक स्टुअर्ट ब्राडले दुई र क्रिस वोक्स तथा बेन स्टोक्सले समान १-१ विकेट लिएका थिए।
लयमा रहेका अस्ट्रेलियाका स्टीव स्मिथ तेस्रो टेस्टबाट बाहिर भएकाले अष्ट्रेलिया कम स्कोरमा रोकिएको हो।
यसअघि लर्डसमा भएको दोस्रो टेस्टका बेला घाइते भएका उनी तेस्रो टेस्टमा छैनन्। एसेज शृंखला अन्तर्गत दोस्रो टेस्टमा इंग्ल्याण्डका जोफ्रा आर्चरको बलमा स्मिथ घाइत भएका थिए ।
हारिसकेको दोस्रो टेस्ट पनि स्मिथका कारण अस्ट्रेलियाले बराबरी गरेको थियो ।
स्मिथले पहिलो टेस्टमा पहिलो र दोस्रो दुवै पारिमा शतक बनाएका थिए।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय