१० खेलाडीमा समेटिएको रियाल म्याड्रिड स्पेनिस ला लिगाको पहिलो खेलमा जित निकालेको छ । रियालले घरेलु टोली सेल्टा डि भिगोमाथि ३–१ को जित निकालेको हो ।
सेल्टाको मैदानमा शनिबार रियालको जितमा करिम बेन्जेमा र टोनी क्रुस र लुकास भास्क्वेजले गोल गरे । सेल्टाका इकर लोसादाले सान्त्वाना गोल फर्काए ।
खेलको १२औं मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । उनले वेल्स स्टार ग्यारेथ बेलको पासलाई सदुपयोग गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको रियाल दोस्रो हाफको शुरुमै १० खेलाडीमा समेटिएको थियो ।
५६औं मिनेटमा मिडफिल्डर लुका मोड्रिच सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । डेनिस सुआरेजमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायतामा मोड्रिचलाई रातो कार्ड देखाएका थिए ।
५८औं मिनेटमा नेस्टर एराउजोको हेडरलाई थिवाउट कोर्टुवाले मुस्किलले बचाउदै सम्भावित बराबरी टारेका थिए । ६०औं मिनेटमा अल्भारो ओर्डिजोलाको हेडर क्रसबारमा लागेर फर्कदा रियाल अग्रता दोब्बर बनाउनबाट चुकेको थियो ।
लगत्तै ६१औं मिनेटमा टोनी क्रुसले अविश्वसनीय गोल गर्दै रियाललाई २–० ले अघि बढाए । मार्सेलोको पासमा क्रुसले करिव ४० यार्डबाट गरेको शक्तिशाली प्रहार क्रसबारबाटै गोलमा परिणत भएको थियो ।
८०औं मिनेटमा वैकल्पिक खेलाडी लुकास भास्क्वेजले करिम बेन्जेमाको पासमा गोल गर्दै रियाललाई जितको बाटोमा उभ्याए । भास्क्वेज ६९औं मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान प्रवेश गरेका थिए ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इकरले गोल गर्दै गोल अन्तर कम गरेपनि रियाल ३–१ ले विजयी हुन सफल भयो ।
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय