अफगानिस्तान विरूद्धको दुई वटा मैत्रीपूर्ण खेल नेपालले क्लिनस्वीप गरेको छ।
एसियन सेन्ट्रल जोन भलिबलको तयारी स्वरुप करीब एक वर्षपछि विदेशी टिमसँग खेलेको नेपालले दुबै खेलमा उत्कृष्ट कमब्याक गर्दै जित हात पारेको हो।
लगनखेलस्थित आर्मीको कोर्टमा भएका खेलमा नेपालले दुबै खेल पाँच सेटमा जितेको हो। पहिलो खेलमा पनि सुरुवाती सेट गुमाएको नेपालले कमब्याक गर्दै खेल तीन दुईको सेटमा जित निकालेको थियो ।
बिहिबार भएको दोस्रो खेलमा पनि नेपालले सुरुवाती दुई सेट गुमाइसकेको अवस्थामा उत्कृष्ट कमब्याक गर्दै खेल तीन दुईले नै जित्यो।
नेपालले पहिलो सेट २५–२२ ले गुमायो भने दोस्रो सेट २५–१५ ले हार्न पुग्यो । पहिलो खेलमा पाँच सेटमा विजयी भएको नेपाल आज भने दुबै सेटमा केही कमजोर देखियो। नियमित कप्तान इम रानामगर कोर्ट बाहिर रहेको बेफाइदा नेपालले भोग्यो ।
पहिलो सेटमा सुरुवातमा केहि प्रतिस्पर्धात्मक रहे पनि दोस्रो सेटमा भने रिसिभ र स्पाइकमा पनि कमजोर देखियो। पहिलो खेलमा ब्यहोरेको हारमा देखिएका कमजोरीलाई अफगानिस्तान आजको खेलमा निकै सुधार गरेको थियो।
तेस्रो सेटमा भने नेपालले सुरुवाती दुई सेट भन्दा केहि राम्रो खेलेको थियो । सुरुवातमा नै चार शुन्य अंकले पछि परेको नेपालले विस्तारै आफुलाई खेलमा फर्काएको थियो।
सेटको अन्तिममा २४–२४ को अवस्थामा रहेका बेला नेपालले लगातर दुई अंक बटुल्दै २६–२४ ले जित्न सफल भयो ।
चौथो सेट नेपालले २६–२४ ले जित्न सफल भयो । नेपाली टिमले सुरुवात देखि नै अफगानिस्तानलाई दबावमा राखेको थियो । सुरुवाती पाँच सर्भिसमा चार अंक बटुलेको नेपालले त्यसपछि केहि गल्ति गर्न पुग्यो । जसका कारण खेल एक सय ११–११ मा पुगेको थियो । त्यसपछि स्कोर १३–१२ को अवस्थामा अफगानिस्तानका खेलाडीले रेफ्रिको निर्णयमा असन्तुष्टी पोखेका थिए । तर त्यसपछि अफगानिस्तानले केहि उत्कृष्ट स्पाइक गर्दा स्कोर १८–१६ मा पुर्याएको थियो । निकै रोमाञ्चक बनेको खेल एक समय १८–१८ को अवस्थामा रहेको थियो । सेटको अन्तिममा खेल झन उत्कृष्ट बनेको थियो । सेट २१–२१ को अवस्थामा रहेका बेला नेपालले दुई खेल बटुल्दै २३–२१ मा पुर्याएको थियो । अन्तिममा २३–२३ को अवस्थामा रहेको खेल फेरी २४–२४ अंकमा पुगेको थियो । तर अन्तिममा राजेन्द्र विष्टले दुई अंक स्पाइकबाट बटुल्दै नेपाललाई सेट दिलाए ।
अन्तिम सेट नेपालले १५–१२ ले जित्न सफल भयो । सो सेटमा नेपालले सुरुवातमा दुई सेटले पछि परेको अवस्थामा जित्न सफल भयो । खेलको विचमा सेट १०–१० को अवस्थामा पुर्याएको थियो । तर अन्तिममा नेपालले लगातार तीन अंक ल्याउदै सेट आफ्नो पक्षमा पार्यो ।
यो जितसँगै नेपालले एभीसी सेन्ट्रल जोनका लागि मनोबल उच्च बनाएको छ । भदौ २ गतेबाट सुरु हुने प्रतियोगितामा सात टिमको सहभागिता रहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय