काठमाडौँ । भारतले वेस्टइन्डिजविरुद्धको टी-२० सिरिजमाथि क्लिनस्विप गरेको छ ।
गएराती सम्पन्न तेस्रो टी-२० खेलमा भारत ७ विकेटले विजयी भएसँगै टी-२० सिरिज ३-० ले जितेको हो ।
वेस्टइन्डिजले दिएको १४७ रन पछाएको भारतले १९.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
भारतका लागि रिषव पन्तले सर्वाधिक अविजित ६५ रन बनाएका थिए । पन्तले ४२ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।
त्यस्तै भारतीय कप्तान विराट कोहलीले ४५ बलमा ५९ रन बनाएका थिए । त्यस्तै यस खेलमा रोहित शर्माको ठाउमा खेलेका केएल राहुलले २० रन बनाएका थिए ।
वेस्टइन्डिजका बलर ओसमान थोमसले २ विकेट लिए भने फाबियन एलेनले एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ६ विकेट गुमाउदै १४६ रन बनाएको थियो । वेस्टइन्डिजका लागि केरन पोलार्डले ४५ बलमा ५८ रन बनाएका थिए । त्यस्तै रभमन पावेलले २० बलमा ३२ रन बनाए भने निकोलस पुरनले १७ तथा कप्तान कार्लोस ब्रेथवेट र एविन लुइसले १०-१० रन बनाए ।
भारतीय बलर दिपक चाहरले सर्वाधिक ३ विकेट लिएका थिए । चाहरले ३ ओभरमा एक मेडनसहित केबल ४ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै नवदीप सैनीले २ विकेट लिएका थिए भने आफ्नो डेभ्यु खेल खेलेका राहुल चाहरले एक विकेट लिएका थिए ।
भारतका बलर दीपक चाहर खेलको प्लेयर अफ द म्याच बने भने सिरिजमा अलराउन्ड प्रदर्शन गरेका क्रुनाल पाण्डेय प्लेयर अफ द सिरिज बनेका थिए ।
अब भारतले तीन एकदिवसीय सिरिजको पहिलो खेल अगष्ट ८ मा खेल्ने तालिका रहेको छ ।