काठमाडौँ । आइसीसीले टी-२० को विश्वकप ग्लोबल क्वालिफायरका लागि सस्पेन्ड भएको जिम्बाबेको ठाउमा अफ्रिकी टिम नाइजेरियालाई अवसर दिएको छ ।
आइसीसीले एक विज्ञप्ति जारी गर्दै ग्लोबल क्वालिफायरको १४औ टिमको रुपमा नाइजेरियालाई छनौट गरिएको जानकारी गराएको छ ।
यो सँगै टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने नेपालको सबै सम्भावना सकिएको छ ।
नाइजेरिया अफ्रिकी छनौटमा तेसो भएको थियो । यस अघि अफ्रिकाबाट केन्या र नामिबिया ग्लोबल क्वालिफायरका लागि छनौट भएका थिए ।
नाइजेरिया अब आउदो अक्टोबरमा युएईमा हुने ग्लोबल क्वालिफायरमा आयोजक युएई, हङकङ, आयरल्याण्ड, जर्सी, केन्या, नामिबिया, नेदरल्याण्डस, ओमान, पपुवा न्युगिनी, स्कटल्याण्ड, र सिंगापुरसँगै ग्लोबल क्वालिफायर खेल्ने छ । ग्लोबल क्वालिफायर खेल्ने १६ टिम मध्ये अमेरिका क्षेत्रबाट दुई टिम छानिन अझै बाँकि रहेको छ ।
आइसीसीले महिला विश्वकपको क्वालिफायरमा भने जिम्बाबेको ठाउमा नामिबियाको महिला टिमलाई छनौट गरेको छ ।
अघिल्लो महिना सिंगापुरमा सम्पन्न एशिया स्तरको छनौटमा नेपाल तेस्रो हुदै ग्लोबल क्वालिफायरमा छनौट हुन् असफल भएको थियो । आइसीसीले टी-२० वरियतामा नेपाल माथि रहेकाले जिम्बाबेको ठाउमा छनौट गर्नसक्ने नेपाली किकेट प्रेमीहरुले झिनो आशा व्यक्त गरेका थिए ।
तर आइसीसीले अफ्रिकाबाट छनौट खेलमा तेस्रो भएको नाइजेरियालाई अवसर दिना साथ नेपालको २०२० को टी-२० विश्वकप खेल्ने झिनो आशा पनि समाप्त भएको छ ।