सरकारले आगामी कात्तिकसम्म देशका प्रमुख शहरमा चौथो पुस्ताको फोर जी सेवा उपलब्ध गराउने गरी काम गरिरहेको जनाएको छ । नेपाल टेलिकमले फोर जी सेवा विस्तारका लागि सबै प्रक्रया शुरु गरिरहेको र विराटनगर र नेपालगञ्जमा ‘फोर जी कोर’ स्थापना भइसकेको छ ।
मन्त्री बाँस्कोटाले आफू मन्त्री भएर आउँदा फोर जी विस्तारसम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको र संसदीय समितिले समेत अध्ययन गरेको तथ्य पेश गर्दै एक वर्ष समयसीमाभित्र काम सम्पन्न गर्ने गरी काम शुरु भइसकेको तथ्य पेश गरे ।
फोर जी सेवाका लागि कूल ६०० वटा ठूला बिटिएस टावर निर्माण गर्नुपर्नेछ । यस्तै साना र मझौला गरी कूल चार हजार १०० वटा बिटिएस टावर निर्माण हुनेछ । मन्त्री बाँस्कोटाले एउटै टावरको ढुवानी भाडासमेत रु एक करोडसम्म तिर्नुपर्ने भए पनि काम युद्धस्तरमा अगाडि बढेको जानकारी सदनलाई गराए।
मन्त्री बाँस्कोटाले भने, “फोर जी सेवा विस्तार प्रक्रियाले गति लिएको छ । सरकारले एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । सो अवधिमा काम पूरा हुन्छ ।”
मन्त्री बाँस्कोटाले टेलिकम सेवामा गुनासो नआउने गरी काम भइरहेको जानकारी दिए। जनगुनासा नै नआउने गरी काम भइरहेको र टेलिकम सेवा प्रदायकलाई आवश्यक निर्देशन दिइएको उनको भनाइ छ ।
उनले नेपाल टेलिभिजन र रेडियो नेपालको प्रसारण क्षेत्रमा क्रमशः विस्तार भएको जानकारी दिए । यस्तै थप १० प्रतिशत ब्रोडब्याण्ड इन्टरनेट सेवासमेत पुगेको उनको भनाइ छ । त्यस्तै नेपाल टेलिकमले पछिल्लो समयमा फाइबर टू होम सेवालाई युद्धस्तरमा विस्तार गरेको छ । सो प्रणालीमा इन्टरनेट, टेलिभिजन, भ्वाइस सेवा उपलब्ध हुनेछ । नेपालगञ्ज, कोहलपुर, भरतपुर र काठमाडौँमा उक्त सेवा शुरु भइसकेको छ ।
मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक पाउनै पर्ने र त्यसलाई कार्यान्वयन गराउन आफू प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले लोककल्याणकारी विज्ञापनलाई समेत थप व्यवस्थित बनाउने गरी समानुपातिक विज्ञापन प्रणाली लागू गर्न लागिएको जानकारी दिए।रासस
प्रकाशित मिति: मंगलबार, असार १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय